बिभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएका समान शिक्षाहरुमध्ये एक हो– जस्तो कर्म उस्तै फल । यो शिक्षा ब्यवस्थापन शिक्षामा पनि उत्तिकै लागु हुन्छ । हामिले खेतबारीमा सुन्तला रोपेर त्यो सुन्तलाको बोटबाट स्याउ प्राप्त गर्न सक्दैनौं । स्याउ फलाउन स्याउकै बिरुवा रोप्नुपर्छ । त्यसरी नै मानिस जिवनमा आफूले हांसिल गर्न चाहेको प्राप्त गर्नको लागि सम्बन्धित क्षेत्रको ज्ञान, शिप, क्षमता आर्जन गर्नुपर्छ । यदि हामि अरुबाट असल ब्यवहार चाहान्छौं भने पहिला आफूले अरुसंग असल ब्यवहार गर्नुपर्छ । न्यूटनको चालको तेश्रो नियम “प्रत्येक क्रियाको बराबर र बिपरित प्रतिक्रिया हुन्छ” लाई ब्यवस्थापनको कोणबाट बिष्लेशण गर्ने हो भने पनि यसले यहि कुरा जनांउछ । हामिले भकुण्डोलाई जति जोडले भुंईमा बजार्छाैं, बल त्यती नै जोडले बल माथितिर उफ्रन्छ । मानिसको जिवनमा पनि खराब ब्यवहार गर्ने ब्यक्तिले नराम्रो नतिजा र असल ब्यवहार गर्ने ब्यक्तिले राम्रो नजिता प्राप्त गर्छ ।

दुईजना किसानहरु एउटा गांउमा बस्थे । ति मध्ये एकजना एकदमै लोभी थियो भने अर्काे एकदमै दानी थियो । एकदिन हावाहुरीले दुबैजनाको घरको छाना उडाईदियो र तिनिहरु हावाहुरी बर्षातको बिचमा आआफ्नो घरमा रातभर भगवानलाई पुकार्न थाले । उनिहरुको रातभरको पुकारले भगवान प्रकट हुनुभयो र आशिर्वाद माग्न भन्नुभयो । लोभी किसानले भन्यो – हे भगवान जिन्दगीभर अहिलेसम्म खेति किसान गरियो । खान पनि धौ धौ हुन्छ, मलाई यस्तो बरदान दिनुहोस् कि, मैले सबैबाट पैसा पाउन सकुं तर मैले कसैलाई दिन नपरोस् । अर्काे दानी किसानले भन्यो – हे भगवान मलाई यस्तो बरदान दिनुहोस् कि, मेरो घरमा जो सुकै आए पनि तिनिहरुलाई कहिल्यै पनि रित्तो हात फर्काउन नपरोस् सबैलाई सहयोग गर्न सकुं । दुबैलाई भगवानले तथास्तु भनेर बरदान दिनुभयो ।

बरदानको फलस्वरुप लोभि किसान जसले मैले सबैबाट पैसा पाउन सकुं तर मैले कसैलाई दिन नपरोस् भनेर मागेको थियो, उ जोगी बन्यो र दानी किसान जसले मेरो घरमा जो सुकै आए पनि तिनिहरुलाई कहिल्यै पनि रित्तो हात फर्काउन नपरोस् सबैलाई सहयोग गर्न सकुं भनेर मागेको थियो, उ त्यो क्षेत्रकै सबैभन्दा धनी साहु बन्यो ।

किसानको कथाबाट थाहा हुन्छ कि, दिने मानिस कहिल्यै गरिब हुंदैन । दिनेको हात जहिल्यै पनि लिनेको हातभन्दा माथि हुन्छ । जुन मानिसले दिने सोंच्छ उ महान बन्न सक्छ तर लिने सोंच्ने मानिस कहिल्यै पनि महान बन्न सक्दैन । यहां दिने भन्नाले धन मात्र नभई, मायां, प्रेम, ज्ञान, शिप, अख्तियारी आदी जे पनि हुन सक्छन् ।

शायद यहि सिद्धान्तले होला संसारका धनी ब्यक्तिहरु बिल गेट्स, वारेन वफेट, रतन टाटा, बिनोद चोधरी जस्ता ब्यक्तिहरुले करोडौं, अर्बाै रकम समाजसेवामा खर्च गर्छन् । हामिले हाम्रो दैनिक कार्यमा साथीभाईहरुसंग दिने सोंचले कार्य गर्यौं भने संस्थाको कार्यसम्पादनको साथसाथै आफ्नो कार्यसम्पादन पनि बढ्न जान्छ ।

दिने, बांड्ने भन्ने शब्दले टिम वर्कलाई पनि जनांउछ । सहकर्मी साथीहरुलाई राम्रो काम गर्ने बातावरण दिने, साथीहरुलाई आफूले जानेको कुराहरु सिकाउने साथीहरुसंग सुख दुख बांड्ने आदी । कुनै पनि बच्चा कस्तो बन्छ भन्ने कुरा अभिभावक, साथीमाई, स्कूल, छिमेकले दिने संस्कारमा भरपर्छ तर यसमा लिने ब्यक्तिले पनि कसरी ग्रहण गर्छ भन्ने कुराले पनि ठुलो प्रभाव पर्छ । ब्यक्तिगत बिशेषताले पनि मानिसले ग्रहण गर्ने तथा बुझ्ने बिषयमा फरक पर्न सक्छ ।

परिक्षामा पास हुनको लागि पढ्नैपर्छ । जागिरमा पदोन्नती पाउनको लागि कार्यसम्पादन राम्रो हुनैपर्छ । ब्यापारमा सफल हुनको लागि सम्बन्धित ब्यापार सम्बन्धि जानकारी लिएर ब्यापारमा खटिनै पर्छ । पारिवारीक सम्बन्ध राम्रो बनाउनको लागि परिवारका एकले अर्काेलाई राम्रोसंग बुझ्नैपर्छ ।

पौडी खेल्न जान्नको लागि पानीमा खेल्नैपर्छ तर ५०० पेजको पौडी कसरी खेल्ने भन्ने किताब पढेर पानीमा नउत्रिइकन पौडी खेल्न जानिंदैन । हामिलाई कुनै पनि बिषयमा सफल हुनको लागि अर्काे बिषयको बढि ज्ञान लिएर पुग्ने सुविधा हुंदैन अर्थात यसको अन्य कुनै प्रतिस्थापन हुंदैन जस्तै ः पानीसंग डरलाग्छ त्यसैले पौडी खेल्न बरु २ पटक किताब पढ्छु । २ पटक पढे पनि १० पटक पढे पनि पौडी खेल्न पानिमा हाम्फाल्नै पर्छ तर आफ्नो सिकाई अनुसारको गहिराईमा हामफाले जस्तै हामिले पनि कुनै पनि बिषयमा जति ज्ञान तथा शिप छ, त्यती नै सफलता प्राप्त गर्न सक्छौं ।

दिने शब्दको बास्तवमा गहिरो अर्थ छ । दिने मानिसले आवश्यक परेमा सजिलैसंग आफूलाई आवश्यक परेका सहयोगहरु लिन पनि सक्छन् । दिने मानिसलाई सहयोग गर्न मानिसहरु हिच्किच्याउंदैनन् । ब्यवस्थापनको सिद्धान्त अनुसार दिने मानिसहरुसंग आफूलाई आवश्यक ज्ञान तथा शिपहरु अन्य ब्यक्तिहरुसंग लिने आत्मबिश्वास पनि हुन्छ । उदाहरको लागि ः जब मोटरका जन्मदाता हेनरी फोर्डमाथी अदालतमा मुद्धा चलेको थियो, अदालतमा वकिलले फोर्डलाई नर्भस बनाउनको लागि बिभिन्न बिषयका प्रश्नहरु सोध्न थाले । जवाफमा फोर्डले भने– श्रीमान मलाई यि प्रश्नहरुको जवाफ त थाहा छैन तर, म संग यस्ता मित्रहरु छन् आवश्यक परेमा तपांईको हर प्रश्नको जवाफ दिनसक्ने मित्रहरुलाई म यहां उपस्थित गराउन सक्छु । फोर्डको यो जवाफबाट स्पष्ट हुन्छ कि उनले कस्ता कस्ता ब्यक्तिहरुको टिमवर्क बनाएका थिए भनेर । एउटा दिने मानिसको उत्कृष्ट उदाहरण हेनरी फोर्ड पनि हुन् । उनले यो संसारलाई गाडी दिए र गाडीको आविष्कारपछि पनि अमेरीकाको प्रत्येक कृषकहरुले सस्तो गाडी चढ्न सकोस भनेर सस्तो गाडीको आविष्कारको लागि लागिरहे र सफल पनि भए ।

हामिले केहि कुराहरु दिंदा केहि कुराहरु पाएका हुन्छौ । धन, सम्पत्ती, मांया, प्रेम, उपलब्धि, प्रगती, ज्ञान, मान, सम्मान आदी दिएर पाउने पुरस्कारहरु हुन् । दिनलाई कन्जुस्यांई नगरौं । जहिले पनि आफूसंग भएको ज्ञान, शिप, उपलब्धिहरु अरुलाई सिकाउने बानी बसालौं । स्मरण होस् दिनेको हात जहिले पनि माथि नै हुन्छ । हाम्रो कर्म नै हाम्रो भाग्य बिद्याता हो । हामिले जस्तो कर्म गर्छाैं उस्तै फल पांउछौ ।