बदलिंदो समयसंग मानिसहरुमा ध्यान धेरैतिर भड्किरहेको छ । छिटो छिटो प्रतिफल प्राप्त गर्न लालायित हुन थालेका छन् । तातै खांउ जलि मरुं भन्ने भनाई जस्तै मानिसहरु अल्पकालिन प्रतिफलको लागि दिर्घकालिन लक्ष्यलाई भुलिरहेका छन् । ब्यस्त समाजमा अल्पकालिन प्रतिफल प्राप्त गर्न मानिसहरु तंछाड मछाड गरिरहेका छन् ।

क्रिकेटमा टि–ट्वान्टि क्रिेकेटले मानिसहरुको ध्यान आकर्षित गरिरहेको जमाना छ, भने खेलाडीहरुले पनि बिभिन्न लिग प्रतियोगिताबाट करोडौं करोडौं पैसा कमाईरहेका छन् । ति छोंटो फम्र्याटको खेलहरुमा आकर्षण भएतापनि खेलाडीहरुको बास्तविक मूल्याङ्कन भने ५ दिनको टेष्ट खेलाडीबाट नै हुन्छ । कुनै पनि खेलाडीलाई बिश्व स्तरिय खेलाडी बन्नको लागि राम्रो टेष्ट खेलाडी बन्न सक्नुपर्छ ।

एउटा मानिसले निकै मेहनत गरेर खोज्दा पनि उसलाई एकदमै मनपर्ने हराएको घडी पत्ता लगाउन नसकेपछि घडी भेट्टाउनेलाई रु. १ लाख पुरस्कारको घोषणा गर्छन् । केहि मानिसहरु पुरस्कार पाउने आशामा बिभिन्न ठांउमा घडी खोज्न ब्यस्त हुन्छन् भने कतिपयले त मानिसहरुलाई पैसा दिएर पनि खटाउंछन् । केहि समयपछि एकजना बच्चाले घडी भेट्टाउन सफल हुन्छन् । घडी त्यहिं वरपर नै भेटिन्छ, जहां दर्जनजति मानिसहरुले खोजिसकेर त्यस ठांउमा छैन भनि निष्कर्ष निकालेर सो ठांउ छाडेर अन्य ठांउमा खोज्न शुरु गरेका थिए ।

दर्जनौं मानिसले खोजेर नभेट्टाएको ठांउबाटै घडी भेटिएपछि सबैजना दंग भएर बच्चालाई सोध्न थाल्छन् – त्यहां त हामिले धेरै नै खोजेका थियौं तर, हामिले भेट्टाएनौ । तिमिले कसरी भेट्टायौ रु बच्चाले भन्छन्– जब तपांईहरुले घडी खोज्न तंछाड मछाड गर्दैहुनुहुन्थ्यो, मैले चुपचाप पूर्ण ध्यान केन्द्रित गरेर घडीको आवाज सुन्न प्रयास गरें निक्कै समयको प्रयासपछि एकठांउबाट घडीको आवाज आयो अनि आवाजलाई पछ्यांउदै जांदा घडी पाउन सफल भएं । घडी दराजको मुनि खसेको रहेछ ।

भनिन्छ कि, हतपतको काम लतपत । माथिको कथाले पनि यहि सन्देश दिन खोजेको छ । पुरस्कारको लोभले मानिसहरु घडी खोज्न यति हतार भए कि, अरुले भेटाउने पो हो कि भनेर हड्बडाएर काम गर्दा उनिहरुले लक्ष्य अर्थात घडी भेट्टाउन सकेनन् तर, एउटा बच्चाले भने उक्त घडी भेट्टाउनको लागि धर्यताका साथ योजना बनाएर सो काममा एकदमै ध्यान केन्द्रित गरेको कारणले घडी भेट्टाउन सफल भए । प्रतिस्पर्धाको नाममा तंछाड मछाड गरियो भने लक्ष्य प्राप्त नहुन सक्छ ।

साथीमा कपटी र मनमा छट्पटी लिएर गरेको काममा नतिजा राम्रो हुंदैन । बच्चाले घडीको आवाज पत्ता लगाउनको लागि मनलाई एकदमै शान्त बनाएका थिए । उसले पुरस्कार भन्दा पनि लक्ष्य अर्थात घडीमा ध्यान केन्द्रित गरेकोले लक्ष्यसम्म पुग्न सफल भएको हो । पुरस्कारमा ध्यान केन्द्रित गर्ने ब्यक्तिले कुनै एउटा, दुईवटा सफलता प्राप्त गर्न चांही सक्ला तर, लक्ष्यमा ध्यान केन्द्रित गर्ने ब्यक्तिहरुले भने अवश्य नै सफलता प्राप्त गर्न सक्छन् ।

मोस्लोको आवश्यक्ताको सिद्धान्त अनुसार पनि सर्वप्रथम मानिसले उसलाई जिवनयापनको लागि नभई नहुने कुराहरु जस्तै – गांस, बास, कपासको लागि काम गर्छ अनि यो आवश्यक्ता पुरा भएपछि सुरक्षाको प्रवन्ध जस्तै–जागिरको सुरक्षा, जिवनको सुरक्षा आदीको लागि काम गर्छन् । सुरक्षा आवश्यक्ता पनि पुरा भएपछि बल्ल मानिसले सामाजमा आफ्नो नाम रहोस्, अरुले मानोस् भन्ने उदेश्य लिन्छ र उक्त उदेश्य पुरा गर्नको लागि काम गर्छ र त्यसपछि आफ्नो जिवनको सन्तुष्टिको लागि काम गर्दै यि ४ चरणहरु पुरा भएपछि भने अन्तमा आत्म सन्तुष्टिको चरणमा पुग्छ ।

अधिकांश मानिसहरु पहिलो चरणमा मात्र सिमित रहन्छन भने दोश्रो चरणमा केहि मानिसहरु, तेश्रो चरणमा अझै कम नै सिमित हुन्छन् । किनभने, यि चरणहरुमा सिमित हुने मानिसहरु पुरस्कारमै रमाएर मुल लक्ष्य बिर्सिरहेका हुन्छन वा ति लक्ष्यको लागि ध्यान केन्द्रित गर्न सकिरहेका हुंदैनन् । मोस्लोको आवश्यक्ताको सिद्धान्तबाट पनि पुरस्कारलाई भन्दा लक्ष्यमा ध्यान केन्द्रित गर्नुपर्छ भन्ने सिक्न सकिन्छ किनभने, चौंथो र पांचौ चरणमा पुग्ने सफल ब्यक्तिहरुले पुरस्कारमा भन्दा पनि लक्ष्यमा ध्यान केन्द्रित गरेको पाईन्छ ।

यसमा कुनै शंका छैन कि गांस, बास, कपास नपाएको मानिसले सुरक्षाबारे सोंच्दैन, सुरक्षा आवश्यक्ता पुरा नभएको मानिसले सामाजिक आवश्यक्ताको बारेमा सोंच्न सक्दैन । मानिसले एउटा पुरा भएपछि मात्र सो भन्दा माथिल्लो तहको अर्काे आवश्यक्ताको महुशुस गर्न थाल्छ तर, अधिकांश मानिसहरुले एउटा आवश्यक्ता पुरा भएपछि पनि पुरस्कार वापतको उत्प्रेरणाले गर्दा यथास्थितिमा नै रमाएर बस्ने र त्यो भन्दा ठुलो उत्प्रेरणाको श्रोतको खोजि नगर्ने भएकोले आशातित सफलता प्राप्त गर्न सक्दैनन् ।

कुनै पनि कर्मचारीको लागि पारिश्रमिक उत्प्रेरणाको एउटा श्रोत हो । कर्मचारीले काम गरेपछि उचित पारिश्रमिक पाउनुपर्छ र उ यसबाट खुशि पनि हुनुपर्छ तर, पारिश्रमिकको लागि मात्रै काम गर्ने सोंच बनाउनुहुन्न । कर्मचारीहरुले उसको लक्ष्यको लागि काम गर्नुपर्छ । लक्ष्य भन्नाले उ जुन क्षेत्रमा काम गरेको छ, त्यस क्षेत्रको उत्कृष्ट बन्नु अर्थात उ जुन लक्ष्य लिएर उक्त कार्यालयमा भर्ना भएको थियो, उक्त लक्ष्य प्राप्तिको लागि काम गर्नुपर्छ ।

सन् २०१३ मा रिलिज भएको फरहान अख्तर अभिनित बलिउड चलचित्र भाग मिल्खा भागमा चलचित्रका नायक फरहान अख्तर अर्थात मिल्खा सिंङ्ग आर्मी ट्रेनिङ्गमा दौडमा भाग लिनेले एक गिलांस दुध पिउन पाउने थाहा पाएपछी दौडमा भाग लिन्छन् । उनको शुरुवाती दिनहरुमा दौडमा भाग लिनुको मुख्य उदेश्य भनेको एक गिलास दुध पुरस्कार थियो अर्थात उ दुधको लागि दौडिन्थ्यो र पछि भारतको खेलाडीले लगाउने कोट लगाउन पाईन्छ भन्ने आशले दैडिन थाल्यो, यति बेलासम्म पनि उसको लक्ष्य पुरस्कार नै थियो । तर, जब बिस्तारै उसको लक्ष्य देशको लागि दौडेर स्वर्ण पदक जित्ने भनेर आफ्नो सम्पूर्ण ध्यान पुरस्कारबाट हटाएर लक्ष्यमा केन्द्रित गर्यो, उसले बिश्व च्याम्पियन बनेर ईतिहांस बदलिदियो ।

मिल्खा सिंङ्गको जिवनीबाट पनि पुरस्कारको लागि भन्दा लक्ष्यको लागि काम गर्यो भने ठुलो सफलता पाईन्छ भन्ने बुझ्न सकिन्छ । कुनै पनि काम गर्दा छट्पटी गर्नु त पर्छ तर मनमा शान्ति ल्याउनुपर्छ । छटपटी पनि हुनुपर्छ तर यो गडबडी ल्याउने कार्यको लागि होईन कि, लक्ष्यमा पुग्नको लागि, उक्त लक्ष्य प्राप्तिको लागि गरिने कार्यहरु गर्नको लागि हुनुपर्छ । काम कसरी गर्ने, कहां गर्ने, किन गर्ने आदी सोंच्नको लागि गरिएको छट्पटीले भने सकरात्मक नतिजा ल्यांउछ तर, यि कारणले मनमा अशान्ति ल्याउनु भने हुंदैन ।

पुरस्कारले पनि ब्यक्तिमा उत्प्रेरणाको कार्य गर्छ । मानिसलाई कुनै पनि कार्य गर्नको लागि उत्प्रेरणको ठुलो भूमिका हुन्छ । माथिको कथामाहरुमा घडि खोज्नको लागि होस् वा मिल्खा सिंङ्गलाई दौडमा भाग लिनको लागि होस् पुरस्कारले उत्प्रेरणा गराउन ठुलो भूमिका खेलेको छ । तर, संधै पुरस्कारको लागि मात्र काम गर्यो भने ठुलो सफलता प्राप्त हुंदैन । उत्प्रेरणालाई लक्ष्य प्राप्तिसंग जोड्ने प्रयास गर्नुपर्छ । मिल्खा सिंङ्गले एक गिंलास दुधबाट प्राप्त भएको उत्प्रेरणालाई दौडमा स्वर्ण पदक जित्ने लक्ष्य संग जोडेकोले उसले ईतिहांसमा आफ्नो नाम लेखाउन सफल भएका हुन् ।

प्रख्यात अन्तराष्ट्रिय मोटिवेशनल स्पिकर लेश ब्राउनले भनेका छन् – “लक्ष्यले मानिसको शक्तिलाई कार्यमा लगाउने माध्यमको भूमिका खेल्छ” । लक्ष्य भएन वा बिर्सियो भने मानिसको शक्ति पनि सहि काममा प्रयोग नहुने भएकोले शक्ति त्यसै खेर जान्छ । पुरस्कारले मानिसलाई उत्प्रेरणा दिन्छ तर, मानिसले पुरस्कारमा भन्दा लक्ष्यमा ध्यान दिनुपर्छ । पुरस्कारमा होईन, लक्ष्यमा ध्यान दिए ठुलो सफलता प्राप्त हुन्छ ।