केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कअनुसार नेपालमा खेतीयोग्य जमिन २८ प्रतिशत रहेको छ । त्यसमध्ये २१ प्रतिशत जमिनमा खेती गरिएको छ भने ७ प्रतिशतमा खेती हुन नसकि बाँझै रहेको छ । कूल ग्राहस्र्थ उत्पादनमा करिब २७ प्रतिशत योगदान दिने कृषि क्षेत्रले ७ प्रतिशत जमिन अर्थात् खेतीयोग्य जमिनको २५ प्रतिशत बाँझै राख्नुपरेको कारणले देशको आर्थिक विकासमा नकारात्मक असर पारिरहेको छ ।

देशको जनसंख्याको ६०.४ प्रतिशतले अंगाली रहेको कृषि पेशालाई व्यवसायिकरण गर्ने र बाँझो जमिनमा पनि खेती गर्न सकेमा देशको आर्थिक विकासले फड्को मार्नेमा कुनै शंका छैन । अहिलेसम्म नेपालमा कृषि पेशा पनि एउटा व्यावसायिक पेशा हुनसक्छ भनेर स्वीकार गर्न सकिएको अवस्था छैन । किनभने यो पेशालाई अन्य कुनै विकल्प नभएको अवस्थामा मात्र गुजारा टार्नको लागि गरिने र गर्दै आएको कामको रुपमा लिने गरिन्छ ।

संसारमा मानिसको पहिलो पेशा कृृषि नै थियो । परिवर्तनसँगै कृषिपछि विस्तारै अन्य पेशालाई वैैकल्पिक पेशाको रुपमा अंगाल्न थालिएको हो । उद्योगको जग पनि कृषिबाट नै शुरु भएको हो । आजको दिनमा कृषि पेशा नेपाल जस्तो कृषिमा निर्भर देशको विकासमा योगदान दिने एउटा महत्वपूर्ण पेशा हो ।

सन् २०१८/१९ को तथ्याङ्क अनुसार नेपालले २२४ अर्ब रुपैयाँ बराबरको कृषि तथा पशुजन्य वस्तु आयात गरेको थियो । त्यस मध्ये ३२ अर्ब ५० करोेड बराबरको धान तथा चामल आयात गरेको थियो । दक्षिण एशियाकै सबैभन्दा धेरै प्रतिव्यक्ति मासु खाने देश भएर पनि ४ अर्ब रुपैयाँ बराबरको पशुपंक्षी एवं मासु आयात गरिएको थियो ।

नेपालमा अहिले पनि २५ कम्पनीले संसारका विभिन्न देशबाट मासु र मासुजन्य वस्तुहरु आयात गरिरहेको छ । यो तथ्याङ्कले पनि नेपालमा कृषि क्षेत्रमा ठुलो सम्भावना छ भन्ने स्पष्ट देखाउँछ ।

सन् २०१८ अक्टुबरको तथ्याङ्क अनुसार चिनको मोर्डन डेरीमा २ लाख ३० हजार डेरी गाईहरु पालिएको छ । यो संसारको सबैभन्दा धेरै गाईहरु पालिएको फर्म ४४,५१,५४२ हेक्टर क्षेत्रफलमा सञ्चालित छ भने दोश्रो धेरै गाईहरु पालिएको फर्म चिनकै मुदानचियाङ्ग सिटी मेगा फार्ममा १ लाख गाई पालिएको छ । यो फर्म क्षेत्रफलको हिसाबले संसारकौ सबैभन्दा ठुलो फर्म हो जुन ९१,०५,४२६ हेक्टर क्षेत्रफलमा सञ्चालित छ ।

विश्वको सबैभन्दा ठूलो पोल्ट्रि फार्म ब्राजिलको जेबिएस एसए पोल्ट्री हो । जहाँ बार्षिक ३५०० मिलियन कुखुरा तथा चरा उत्पादन गरेर बेचिन्छ । दोश्रो ठूलो फार्म अमेरिकाको टाइसन फुडबाट १९९१ मिलियन कुखुरा तथा चरा उत्पादन गरी बेचिन्छ । पेरुले आलु उत्पादनको लागि पहिचान बनाएको छ ।

प्रदेशगत हिसाबले पनि भारतको उत्तर प्रदेशले अन्य प्रदेश मध्ये सबैभन्दा धेरै १५.४ प्रतिशत तरकारी उत्पादन गर्छ । संसारका विभिन्न देशले कृषिलाई व्यवसायिकरण गर्दै आफ्नो माटो सुहाँउदो कृषि उपज उत्पादन गर्दै कृषि क्षेत्रलाई व्यवसायिकरण गरिरहेको छ ।

व्यवसायिकरण मात्र गरेर भएन बजारीकरण पनि अर्काे महत्वपूर्ण विषय हो । लकडाउनको बेला कृषकले तरकारी बाटोमा फालेको, दुध सडकमा पोखेको, किसानले तरकारी बारीमै जोतेको समाचारहरु सार्वजनिक भए । समाचार शुभ नभएतापनि कृषि क्षेत्रको व्यवसायिकरणमा अझै धेरै कार्य गर्न बाँकी नै रहेको देखिन्छ । यसबाट कृषि क्षेत्रमा ठूलो सम्भावना रहेको देखिन्छ ।

तरकारी बजारमा पुर्याउन नसकी खेर जाने अवस्था सिर्जना भएकोले बजारसम्म पुर्याउने, भण्डारण गर्ने जस्ता कम्पनी स्थापना भएमा यसले रोजगारी सिर्जना गर्नुको साथै व्यवसायिकरणमा टेवा दिनेमा कुनै दुई मत छैन ।

कोरोना महामारीपछि विश्वभरबाट नेपाली आफ्नो देश फर्कने क्रम जारी नै छ । विदेशबाट फर्किएका लाखौं नेपाली आफ्नो गाँऊ फर्केपछि केहिले कृषि पेशा अंगाल्नेछन् भन्ने विश्वास लिन सकिन्छ । अझै पनि अधिकांश नेपालीले आफ्नो इच्छाका साथ कृषि पेशालाई अंगाल्न सकिरहेका छैनन् । पेशालाई सानो मान्ने, अरुले के भन्नलान् भन्ने सोचले गर्दा जो कोहिले त्यसलाई पेशा अंगाल्न हिच्किच्याईरहेको देखिन्छ । पछिल्ला दिनमा केहि ठूला व्यवसायिक समूहले यस पेशालाई प्राथमिकता दिईरहेकोले यस पेशाप्रति केहि सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको छ । सर्वसाधारणमा कृषि भन्ने बित्तिकै खेतमा गएर जोत्ने, खन्ने दुख गर्नुपर्ने पेशा भन्ने बुझाइ रहेको छ । यो पेशालाई धेरैले पूर्णकालीन पेशाको रुपमा नभई वैकल्पिक पेशाको रुपमा मात्रै अंगालेको पाईन्छ ।

कृषि क्षेत्रका जानकार एवम् आर्थिक क्षेत्रका अगुवाले यस क्षेत्रलाई व्यवसायिकरण गर्नुपर्छ भनिरहेको सुनिन्छ । वास्तवमा व्यवसायिकरणको अर्थ गहिरो छ । सामान्य अर्थमा आर्थिक लाभ आर्जन गर्नको लागि कुनै पनि पेशा सञ्चालन गर्नुलाई उक्त पेशाको व्यवसायिकरण गर्नु भन्ने बुझिन्छ । नेपालका अधिकांश कृषक दैनिक गुजाराको लागि मात्र कृषि पेशा गरिरहेकोले यस पेशाको व्यवसायिकरण हुन नसकेको हो ।

कृषि क्षेत्रको व्यवसायिकरणको लागि गर्नुपर्ने केहि कार्यहरु

१. कोरोना र त्यसपछि अहिले बाढी पहिरोले मानिसमा एक प्रकारको त्रासदी भईरहेकोले उनीहरुलाई उत्प्रेरणा जगाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्दछ । राज्यको नेतृत्वमा बैंक तथा वित्तीय संस्था मिलेर कृषिमा सहुलियतपूर्ण कर्जाको लिई कृषि क्षेत्रमा लगानी गर्न पहल गर्ने, नेपालमा यथेष्ट अवसर छ भनेर सम्झाउने, बुझाउने ।

२. अहिले प्रायःजसो अभिभावकले आफ्ना छोराछोरी कृषि पेशामा लागोस् भन्ने चाहना गर्दैनन् र अहिलेसम्म कृषि पेशालाई सम्मानित पेशाको रुपमा स्वीकार गरि नसकेकोले यसलाई थप मर्यादित बनाउने, स्कूल तहदेखि नै बच्चा तथा अभिभावकलाई अभिमूखिकरण कार्यक्रम मार्फत सिकाउने, बुझाउने जस्ता कार्यको थालनी गर्ने ।

३ं. कृषि पेशा मानिसहरुको पहिलो अथवा संस्थापक पेशा भएकोले यसालाई सम्मानित बनाउनको लागि कुनै पनि व्यक्तिलाई ‘म पेशा गरिरहेको छैन, देशको विकासमा योगदान गर्दैछु’ भन्ने भावना विकास गरी पेशा गर्ने र राज्यबाट आवश्यक व्यवस्था मिलाई आवश्यकता अनुसारको सम्मान कार्यक्रम गर्ने ।

४. मौद्रिक नीति मार्फत कृषि क्षेत्रमा लगानी गर्न प्राथमिकता दिएकोले कृषि उपजको बजारिकरणको लागि सरकारले सहज भूमिका निभाउने र निजी क्षेत्रबाट पनि आपूर्ति व्यवस्थाको लागि सम्बन्धित क्षेत्रमा लगानी गर्न सहयोग पुर्याउने ।

५. पर्यटकलाई स्थानीय उत्पादन खुवाउने संस्कृतिको विकास गरी स्थानिय उत्पादन प्रवद्र्धन गर्ने नीति बनाउने ।

६. कृषि उत्पादनलाई देशभक्तिसँग जोडेर हेर्ने बानीको विकास गर्ने । उपभोक्तालाई आफ्नै माटोको उत्पादन उपभोग गरौ अनि रमाऔं भन्ने भावनाको विकास गरी सकभर स्थानिय उत्पादन, देशको उत्पादन मात्र खरिद गरेर कृषकलाई सहयोग गर्ने नीति विकास गर्ने ।

७. कुनै पनि पढेलेखेका व्यक्तिले कृषि पेशा अंगालेको देखेमा, सुनेमा उसलाई प्रोत्साहन गर्ने, स्याबासी दिने, बधाई तथा शुभकामना दिने जस्ता परिपाटीको विकास गर्ने ।

८. कृषि पेशामा लागेका प्रत्येक क्षेत्रका उत्कृष्ट कृषक, उद्यमीलाई विश्वमा उत्कृष्ट फर्म, कम्पनीको भ्रमण गराई तालिम, ज्ञान तथा सिप आर्जन गर्ने अवसर प्रदान गर्ने ।

९. प्रदेश, जिल्ला र स्थानिय स्तरमा माटो सुहाँउदो खेती गर्न अनुसन्धान गरी सोहि अनुसारको खेती गर्न तथा पशुपंक्षी पालनका लागि राज्यले आह्वान गर्ने र उत्पादकत्व बढाउनको लागि आवश्यक कार्यक्रम गर्ने ।

१०. नेपालमा उत्पादित केहि कृषि उपजको विदेशमा पनि राम्रै माग भएको र भविष्यमा अन्य थप वस्तुहरुको पनि माग हुने सम्भावना रहेकोले गुणस्तरमा ध्यान दिने र नियन्त्रण तथा अनुमगनमा कडाई गर्ने ।

११. तरकारी, माछामासु, दूधजन्य वस्तुहरुको लागि भण्डारण र सहज आपूर्ति व्यवस्थाको कमि भएकोले यसलाई सहज बनाउन लगानी गर्ने र सहज आपूर्ति र भण्डारणको व्यवस्था बनाउने ।

१२. नेपालमा धेरै जडिबुटी तथा केहि कृषि उत्पादन औषधी बनाउन प्रयोग हुने भएकोले यस्ता उत्पादनलाई विशेष प्राथमिकता दिई प्रवद्र्धन गर्ने, स्थानिय उत्पादन प्रयोग गरी नेपाली औषधीको प्रवद्र्धन गर्ने ।

देशमा बाढी, पहिरोले ठूलो क्षति पुगेको छ । त्यसमा पनि किसानले प्रत्यक्ष क्षति व्याहोर्नु परेको छ । कृषि पेशाले सम्मान पाउन नसकेको अवस्थामा यस क्षतिले सर्वसाधारणले दुःखी पेशा पनि भन्ने गरेका छन् । समय सँधै एकै रहँदैन, अहिले केहि ठूला घराना पनि यस पेशामा लागेकाले यसलाई हेर्ने दृष्टिकोण परिवर्तन हुंदै गएकोले एकदिन कृषि पेशा एक सम्मानित पेशाको रुपमा स्थापित हुनेछ ।

कृषक समाजमा शिर ठाडो गरेर गर्वका साथ म किसान, कृषि उद्यमी हुँ भन्ने दिन आउनेछ । आफ्नै माटोको उत्पादन उपभोग गरौ अनि रमाऔं भन्ने भावनाका साथ स्थानिय उत्पादनलाई प्रोत्साहन गरेमा व्यवसायिक कृषि मार्फत देशको आर्थिक विकाशमा ठुलो योगदान गर्न सक्नेछ ।

(लेखक मल्ल बैंकर हुन् ।)

यो लेख क्लिकमाण्डु अनलाईनमा २०७७ श्रावण ८ गते प्रकाशित भएको थियो ।