२०६८ असार १ गते नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने/गाभिने विनियमावली कार्यान्वयमा ल्यांउदा ३१ वटा बाणिज्य बैंक, ८७ वटा विकाश बैंक र ७९ वटा फाईनान्स कम्पनी गरेर जम्मा १९७ वटा क, ख र ग बर्गका बैंक तथा बित्तिय संस्थाहरु रहेकोमा अहिले २०७७ फाल्गुन मसान्तसम्म आईपुग्दा २७ वटा बाणिज्य बैंक, १९ वटा विकाश बैंक र २० वटा फाईनान्स कम्पनीहरु गरी जम्मा ६६ वटा बैंक तथा बित्तिय संस्थाहरु भएका छन् ।
२०६८ सालमा नेपाल राष्ट्र बैंकबाट स्विकृती प्राप्त बैंक तथा बित्तिय संस्थाहरुको चुक्ता पुंजी करिब १०५ अर्ब रहेकोमा अहिले २०७७ फाल्गुन मसान्तसम्म करिब ५४४ अर्ब पुगेको छ र सोहि अनुसार संस्थाहरुको निक्षेप, कर्जा तथा सम्पत्तीहरुमा समेत बृद्धि भईरहेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय संस्थाहरु एक आपसमा गाभ्नै गाभिने (मर्जर) तथा प्राप्ति(एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ जारी गरेपछि धैरै बैंक तथा बित्तीय संस्थाहरु एक आपसमा गाभिई ठुलो संख्यामा संस्थाहरुकौ संख्यामा घटाउन सफल पाएपनि २८ वटा रहेको बाणिज्य बैंकको संख्यामा भने एउटा मात्र बाणिज्य बैंक घटेर २७ मा मात्र सिमित हुनुले मर्जर तथा एक्विजिशन नीतिले बाणिज्य बैंकको संख्या घटाउन सफल हुन सकेको देखिंदैन ।
नेपालमा बैंक तथा बित्तीय संस्थाहरुको संख्या धेरै भयो भन्ने बहस धेरै बर्षदैखि नै चलिरहेको छ । एकातिर बिश्वकै ठुलो आर्थिक बृद्धिदरको सम्भावना भएको देश समेत भएकोले ठुला ठुला परियोजनामा लगानी गर्नको लागि ठुलो पुंजी भएको बैंकहरुको आवश्यक्ता पर्ने बिज्ञहरुको भनाई सार्वजनिक हुंदै आईरहेको पाईन्छ भने अर्काेथरी ठुलो पुंजी भएका बैंकहरु अर्थतन्त्रको लागि सकरात्मक हुने भएतापनि ठुलो बैंकहरुहरुले तल्लो तहमा बैंकिङ्ग सेवा पुर्याउन नसक्ने, एकाधिकारको खतरा पैदा हुने र यदि ठुला बैंकहरु असफल भएको खण्डमा अर्थतन्त्रलाई ठुलो खतरा हुनसक्ने भएकोले यसतर्फ भने सजग हुनु जरुरी रहेको बताउंछन् ।
बिश्वमा ठुला बैंक तथा बित्तिय संस्थाहरुमा सरकारको बिशेष सहयोग रहेको हुन्छ । बिभिन्न अध्ययनहरुले साना संस्थाहरुको तुलनामा ठुला संस्थाहरुलाई असफल हुनबाट बचाउनको लागि बिभिन्न प्रकारका सहुलियतहरु दिएको पाईन्छ जसबाट संस्थाको लागत घटाएर असफल हुनबाट बचाउन ठुलो मद्धत मिलेको देखिन्छ । ठुला संस्थाहरु असफल भएमा उक्त संस्था मात्र नभई त्यसको असर जनमानसमा समेत नकरात्मक पर्न गई अन्य ठुला तथा साना संस्थाहरुमा समेत नकरात्मक असर पर्न गई अर्थतन्त्रलाई नै ठुलो हानी पुर्याउंने भएकोले यसतर्फ एकदमै सजग हुनु आवश्यक देखिन्छ ।
बिश्वमा बिभिन्न समयमा बैंकिङ्ग क्षेत्रमा संकटहरु देखा परिरहे । यसरी संकट आंउदा ठुला संस्थाहरुको तुलनामा साना संस्थाहरुमा बढि समस्या देखापरेको र ठुला संस्थाहरुले संकट झेल्न सकेको तथ्यपछि बिश्वभर बैंक तथा बित्तिय संस्थाहरुमा मर्जर तथा एक्विजिशमा गएर ठुलो संस्था बन्न लहर चल्न थाल्यो भने संस्थाहरुले कारोवार बृद्धि संगे पुंजी समेत बृद्धि गर्दै संस्थालाई ठुलो बनाउने लहर चल्यो ।सन् २००८ मा बिश्वब्यापि आर्थिक संकटपछि पनि धेरै बैंक तथा बित्तिय संस्थाहरुमा समस्या देखिएपछि मर्जर तथा एक्विजिशन भएका थिए, जसले गर्दा बैंकको आकार अझै ठुलो भएको थियो ।
अमेरिकामा बैंककहरुको आकार बृद्धि हुंदेै गएर सन् २०१२ सम्म ठुला ६ वटा बैंकहरुको सम्पत्ति अमेरिकाको कूल ग्राहस्र्थ उत्पादनको ५९ प्रतिशतसम्म पुगेको थियो भने ५ वटा बैंकहरुको कूल सम्पत्ती कूल ग्राहस्र्थ उत्पादनको ३० प्रतिशतको हाराहारी पुगेको थियो भने २०११ मा बैंकहरुको निक्षेप अमेरिकाको कूल निक्षेपको ५० प्रतिशत रहेको थियो ।
टु बिग टु फेल भन्ने शब्द सर्वप्रथम सन् १९८४ मा अमेरिकाको कन्टिनेन्टल ईलिनोईस नेशनल बैंक एण्ड ट्रष्ट टांट पल्टेको घोषणा गरिएको थियो । यो अमेरिकाको सातौं ठुलो बैंकको असफलतापछि अमरिकाको बित्तिय स्थायित्व माथि प्रश्न उत्पन्न भएको थियो किनभने ठुला बैंकहरु असफल हुनुले अर्थतन्त्रलाई निक्कै ठुलो असर पार्छ भन्ने बिज्ञहरुले बिष्लेषण गरेका थिए । १९८४ को यस घटनापछि अमेरिकाको मुद्रा नियामक संस्था युएस् कम्प्ट्रोलर अफ करेन्सिले अमरिकाका ११ ठुला बैंकहरु असफल हुनसक्छन भनेर बिष्लेषण गरेको थियो र सन् १९९१ देखी २००४ सम्म अर्थतन्त्रको नकरात्मक असरबाट जुध्नको लागि बैंकहरुलाई प्रत्यक्ष सहयोग गरेको थियो । सोही समयमा नै यि बैंकहरुलाई मजबुत बनाउन बिभिन्न प्रयासहरु गरिए फलस्वरुप यि ७ वटा बैंकहरुलाई अन्य ४ वटा बैंकहरुसंग गाभियो ।
सन् २००८ जुलाईमा अमेरिकाको ईण्डिम्याक बैंक असफल हुंदा यौ बैंकको सम्पत्ती ३० बिलियन डलर भन्दा बढि थियो र सोहि बर्ष सेप्टेम्बरमा वामु बैंक समस्याग्रस्त हुंदा त्यस बैंकका निक्षेपकर्ताहरुले १० दिनमै १६ बिलियन डलर निक्षेप बैंकबाट निकालेका थिए । सन् १९८८ मा फस्र्ट रिपब्लिक अफ टेक्सास बैंक असफल भएको थियो । ३३.४ बिलियन डलर सम्पत्ती भएको बैंक असफल हुंदा त्यतिबेला अमेरिकाको ईतिहांसकै सबैभन्दा ठुलो बैंक असफल भएको थियो र यसले अर्थतन्त्रमा एकदमै नकरात्मक प्रभाव पारेको थियो ।
सन् १९८८ मा कन्टिनेन्टल ईलिनोइस नेशनल बैंक एण्ड ट्रस्ट असफल भएको थियो । ४० बिलियन डलर सम्पत्ती भएको बैंक आफूले एक्वायर गरेको पेन स्क्वायर बैंकको ठुलो मात्रको खराब कर्जाको कारणले गर्दा ठुलो मात्राको नोक्शानी ब्यवस्था गर्नुपर्ने कारणले असफल भएको थियो ।
सन् २००० मा भारतको यस बैंक असफल भयो । ४७.५ बिलियन डलर सम्पत्ती भएको यस बैंकको असफलताले भारतको बैंकिङ्ग क्षेत्रमा ठुलो धक्का लाग्यो । यस बैंक अगाडी पनि भारतमा पञ्जाब नेशनल बैंक लगायत अन्य बिभिन्न बैंकहरुले असफलता भोग्नुपर्यो । यस बैंक जस्तो ठुलो बैंकको असफलताले केन्द्रिय बैंक तथा बैंक तथा बित्तिय संस्था एवं समग्र अर्थतन्त्रलाई नै ठुलो शिक्षा दिएको छ ।
जसरी जंगलमा ठुलो रुख ढल्यो भने उक्त रुखले आसपासका अन्य साना तथा ठुला रुखलाई समेत असर पुर्यांउछ त्यसरी नै ठुलो बैंक असफल भयो भने बैंकका निक्षेपकर्ताहरु, ग्राहकहरु, सरोकारवाला बैंक तथा बित्तिय संस्थाहरु तथा अन्य बिभिन्न संस्थाहरु लगायत अर्थतन्त्रलाई नै नकरात्मक असर पार्ने भएकोले यस्ता ठुला बैंक तथा बित्तिय संस्थाहरुलाई टु बिग टु फेल अर्थात असफल हुन नदिनको लागि केन्द्रिय बैंक तथा राज्यले बिशेष ध्यान दिएको हुन्छ त्यसैलै नेपालमा पनि यसतर्फ बिशेष नीति बनाएर टु बिग टु फेल हुन नदिनको लागि बिभिन्न देशहरुका बैंकहरुको असफलताबाट पाठ सिकेर अगाडी बढ्नु अत्यन्तै आवश्यक देखिन्छ ।
बिभिन्न अध्ययन अनुसार ठुला बैंकहरुको असफलतका पछाडी बिभिन्न कारणहरु देखिएतापनि समग्रमा बैंकहरु असफल हुन नदिनको लागि मुख्यत निम्न बमोजिमका कदमहरु चाल्न उचित हुने सुझावहरु पाईन्छ जस्तैः
१. नियमन तथा सुपरिवेक्षणमा कडाई
२. एकै प्रमुख कार्यकारी अधिकृत एउटेै संस्थामा लामो समयसम्म रहनु नहुने
३. बैंकको स्वामित्व प्रतिशत तथा नियन्त्रणमा नियन्त्रण
४. बैंकको सञ्चालक समिति, लेखा समिति तथा नियमन निकायको उच्च सतर्कता
५. राम्रो जोखिम ब्यवस्थापन प्रणालिको ब्यवस्था र बिभिन्न कोणहरुबाट नियमन गर्ने
६. पारदर्शी तरिकाले लेखापरिक्षक तथा ब्यवसायिक सञ्चालकको नियुक्ति
७. सञ्चालक समिति, लेखा समिति, जोखिम ब्यवस्थापन समिति तथा नियमन निकायहरु समय र परिस्थिती अनुसार तुरुन्तै सक्रिय रही कार्य गर्ने
८. लगानीकर्ताहरु तथा सरोकारवालाहरुद्धारा संस्थागत सुशासनको बारेमा बारम्बार चांसो लिईरहने
९. कर्जा तथा निक्षेप सुरक्षणको दायर बढाउंदै लगेर बैंकप्रति ग्राहकहरुको थप बिश्वास आर्जन गर्ने
१०. बैंकमा राम्रो सूचना प्रणालीको विकाश गर्नेर
११. बैंकको जोखिम ब्यवस्थापन समितिलाई सशक्तिकरण गरेर जोखिम बिश्लेषण गर्ने आदि ।
२००७–८ को बिश्वब्यापि आर्थिक संकटपछि फाईनान्सियल स्टाबिलिटी बोर्ड (बित्तिय स्थिरता समिति) ले प्रणालिगत रुपमा महत्वपूर्ण बित्तिय संस्थाहरुको सूचि प्रकाशित गर्दै आईरहेको छ भने बिभिन्न देशहरुले पनि उक्त देशको लागि प्रणालिगत महत्पूवर्ण बित्तिय संस्थाहरुको नाम प्रकाशित गर्दै आईरहेको पाईन्छ । नेपालमा यस्ता महत्वपूर्ण बित्तिय संस्थाहरु भनेर कुनै पनि संस्थाहरुलाई दर्ता नगरेको भएतापनि यस्ता संस्थाहरुको लागि नियमन र सुपरिवेक्षण बिशेष तरिकाले गरिने र यस्ता संस्थाहरुको जोखिम कम गर्नको लागि बैंकको लागि आवश्यक प्राथमिक पूजिंमा थप १ प्रतिशत देखि २.५ प्रतिशत थप गर्ने गरी पूंजि पर्याप्तता संरचना तयार गरेको छ ।
ठुला संस्थाहरु असफल भएमा अर्थतन्त्रलाई थेग्नै गाहे हुनसक्छ, त्यसैले टु बिग टु फेल हुन नदिनको लागि आवश्यक कदमहरु चाल्नजरुरी देखिन्छ । गाडी किनेपछि बाटो बनाउन तम्सिनु अनि सवारी चालक अनुमतिपत्र निकाल्न प्रक्रिया थाल्नुभन्दा सवारी चालक अनुमतिपत्र लिएर, बाटो बनाईसकेपछि गाडी खरिद गर्नु उचित र सहि बाटो हुने भएकोले अहिले चलिरहेको बिग मर्जरको हल्ला संगसंगै टु बिग टु फेल हुन नदिनको लागि आवश्यक कार्यहरु गर्न जरुरी देखिन्छ । लेखक बुद्धि मल्ल बैंकर हुन् ।
यो लेख २०७८ बैशाख १८ गते अनलाईनखबर डट कममा प्रकाशित भएको थियो ।