एकजना राजाको हात्ति शिकार खेल्न जाने क्रममा एउटा घना जंगलको बीचमा रहेको दलदलमा फस्न पुग्छ । राजाको सैनिकहरुले धेरै मेहनत गर्दा पनि हात्तिलाई निकाल्न नसकेपछि एकजना मन्त्रिलाई बोलाउँछन् ।

मन्त्रीले सबै परिस्थिती बुझेपछि सैनिकहरुलाई युद्धको धुन बजाउन निर्देशन दिन्छन् । युद्धको धुन सुन्ने बित्तिकै हात्तिले न्वारानदेखिको बल लगाउँछ र एकैछिनमा दलदलबाट बाहिर निस्कन्छ ।

धुन बजाउनुभन्दा अघि कयौं सैनिकहरुले बल लगाउँदा पनि ननिस्किएकोे हात्ति यसपटक भने बिना कुनै सैनिकको साहाराले आफै बाहिर निस्कन सफल हुन्छ ।

हात्ति निस्किएपछि राजा खुशी हुंँदै मन्त्रीसँग सोध्छन्– ‘तिमिले कुनै बल प्रयोग नगरी युद्धको धुन बजाएर मात्रै हात्तिलाई निकाल्यौ, यो कसरी सम्भव भयो ?’

राजाको प्रश्न सुनेपछि मन्त्रीले जवाफ दिन्छन्– ‘महाराज, यो हात्ति शारीरिक रुपमा पहिल्यै फिट थियो त्यसैले उसलाई दलदलबाट निस्कनका लागि थप बलको आवश्यक थिएन तर, ऊ मानसिक रुपमा फिट थिएन ।

मानसिक रुपमा फिट अवस्थामा ल्याउनका लागि युद्धको धुन बजाउनु आवश्यक थियो । युद्धको धुन बजाउनासाथ उसलाई आफ्नो शक्तिको महशुस भयो । त्यो धुन बजेपछि राज्यलाई उसको आवश्यकता छ र अब उसले आफ्नो शक्ति प्रदर्शन गर्नुपर्ने बेला आयो भन्ने महशुस गरेकोले उ एकैछिनमा दलदलबाट बाहिर निस्केको हो ।’

कथाको हात्तिजस्तै अधिकांश मानिसहरुले अधिकांश समयमा आफ्नो वास्तविक शक्ति प्रयोग गरिरहेका हुँदैनन् । उनीहरुको कमजोर मानसिकताले गर्दा अधिकांश समयमा हात्ति दलदलमा फसेजस्तै गन्तव्यमा पुग्न नसकेर बीचबाटोमै अल्झिएर बसिरहेका हुन्छन् ।

पढाइ बीचमा छाड्नु, कुनै व्यापार, व्यवसाय वा जागिरपनि बीचमा छाड्नु वा आफूलाई परेको जिम्मेवारी अधुरै छाड्नु वा जिम्मेवारीबाट पन्छिनुआदि उदाहरणहरु हात्ति दलदलमा फसे जस्तै हो ।

जसरी हात्तिले युद्धको धुन बजेपछि आफ्नो शक्ति थाहा पाएजस्तै मानिसले पनि आफ्नो शक्ति, आफूमाथि म गर्न सक्छु भन्ने विश्वास गर्न सकेमा ऊपनि दलदलबाट निस्केर गन्तव्यमा पुग्नसक्छ ।

अधिकांश मानिसहरुले मस्तिष्कमा नकारात्मक कुराहरु भरिरहेका हुन्छन् र थोरै मात्र सकारात्मक कुराहरु भरिरहेका हुन्छन् । किनभने, उसले कमैमात्र सफलताहरु, सफल व्यक्तिहरु देखिरहेको, सुनिरहेको हुनाले ऊ मानसिकरुपमै कुनै काम वा लक्ष्यका लागि फिट नभएको वा उसले उक्त काम गर्न नसक्ने भन्ने सोच्न थाल्छ ।

उसको मस्तिष्कले नै उक्त काम गर्न नसक्ने भनेर लक गरिदिएको हुन्छ । जसरी पासवर्ड प्रोटेक्टडेड एक्सेल सिट खोलेर काम गर्नका लागि उक्त एक्सेल सिटको पासवर्ड हान्नुपर्छ । त्यसरी नै मानिसले कुनै काम गर्न सक्दैन भनेर राखेको पासवर्ड राखेर मस्तिष्कलाई अनलक गरेर अघि जानुपर्छ । र, आवश्यक परेमा मस्तिष्कको पासवर्ड पनि परिवर्तन गर्नुपर्छ । पहिलेको मस्तिष्कको पासवर्ड म कमजोर छु, गर्न सक्दिन भन्ने रहेको भए नयाँ पासवर्ड म बलियो छु, म गर्न सक्छु भन्ने जस्ता राख्नुपर्छ ।

सामान्यतयाः रेस्लिङलाई शक्ति प्रर्दशन गर्ने खेलको रुपमा बुझिन्छ । यसका खेलाडीहरु शारीरिकरुपले बलिया हुन्छन् । तर, कुनै बखत १७५ पाउण्ड वजनको रे मिस्टेरियो भन्ने खेलाडीले ४४३ पाउण्ड वजनको बिग शोलाई जितेर विश्व च्याम्पियनपनि भएका थिए । २१७ पाउण्ड वजन भएका सेथ रोलिन्सले पनि ठूला ठूला जिउडाल भएका रेस्लरलाई जितरे सनसनी मच्चाएका थिए ।

यी साना कदमा रेस्लरहरु जब मैदानमा उत्रन्छन् यिनीहरुको मानसिक शक्ति यति गज्जबको हुन्छ कि यिनीहरुले खेल जित्नुभन्दा पहिले नै प्रतिष्पर्धीलाई आफ्नो आत्मविश्वासले जितिसक्छन् ।

त्यस्तै बक्सिङ, युएफसीजस्ता खेलमा पनि साना कदका खेलाडीहरुले ठूला कद भएका खेलाडीमाथि बिजय प्राप्त गरेको देख्छौं । महान बक्सिङ खेलाडी माइक टाइसनले पनि आफ्नो जमानामा आफूभन्दा बिशाल शरीर भएका खेलाडीहरुलाई नकआउट गराएको गर्विलो इतिहास पनि छ ।

जसरी जतिसुकै राम्रो हाइड्रोलिक पावर स्टेरिङ भएपनि गाडी लक रहेको अवस्थामा उक्त स्टेरिङले राम्रोसँग काम गर्दैन । त्यसरी नै मानिसमा जतिसुकै शारीरिक शक्ति भएपनि सफलता प्राप्त गर्नका लागि उसमा म काम गर्न सक्छु भन्ने आत्मविश्वास नभएमा उनले आफ्नो शक्तिको सही सदुपयोग गर्न सक्दैन ।

स्टेरिङबाट सही काम लिनका लागि सर्वप्रथम त्यसलाई अनलक गर्नुपर्छ भने मानिसले पनि आफ्नो खुबी वा शक्तिको सही सदुपयोग गर्नकै लागि उसको मस्तिष्कको बटन खोल्नुपर्छ । अर्थात् लक भएर बसेको मस्तिष्कको बटनलाई अनलक गर्नुपर्छ । अनलक नगरेसम्म जतिसुकै शक्ति, उर्जा भएपनि परिणाम प्राप्त नभई लक्ष्य प्राप्त हुन सक्दैन ।

सन् १९९४ मा रिलिज भएको नाना पाटेकर, डिम्पल कपाडिया र डेनी अभिनित बलिउड सुपरहिट फिल्म ‘क्रान्ति बीर’को एउटा दृश्यमा गुण्डाहरुले बच्चाले नाना पाटेकरलाई गुण्डाहरुबाट उसको आमालाई बचाउन आग्रह गर्छ । बच्चाको आग्रह, बिधवा महिलाको हारगुहार सुन्दा पनि नाना पाटेकरले उनीहरुलाई बचाउन इन्कार गर्दै भन्छन्- ‘आज त म तिमीहरुलाई बचाउँला तर, कतिञ्जेल तिमीहरु अर्काेको भरमा पर्छाै ? भोलि फेरि यिनीहरु आए भने कसलाई हारगुहार गर्छाै ? कतिञ्जेल बच्चा छु, नारी हुँ, कमजोर छु भनेर अर्काेको भर पर्छाै ? उठाउ ईँट्टा, ढुङ्गा, लठ्ठी र बर्साउ जसले तिमीहरुमाथि अत्याचार गरिरहेको छ ।

नाना पाटेकरको यस्तो कुरा सुनेपछि त्यो बच्चा र बिधवा महिलाको मस्तिष्क अनलक हुन्छ र ईँट्टा, लठ्ठीले गुण्डाहरुमाथि आक्रमण शुरु गर्छन र गुण्डाहरुलाई भगाउँछन् ।

बच्चा हुँ, महिला हुँ, सानो हुँ, गरिब हुँ, बृद्ध हुँ, रोगी हुँजस्ता सोँचले मानिसको मस्तिष्कलाई लक गरिदिएको हुन्छ जसले गर्दा यस्ता ब्यक्तिहरुमा शारीरिक तवरले कुनै पनि काम गर्ने क्षमता राख्दा राख्दै पनि मस्तिष्क लक भएको कारणले काम गर्दैन र गरेपनि राम्रोसँग गर्न सक्दैनन् र सफलता प्राप्त गर्न सक्दैनन् ।

मानिसले सफलता प्राप्त गर्न सर्वप्रथम सक्दिन भनेर लक गरिएको मस्तिष्कलाई अनलक गर्नुपर्छ । फिल्म क्रान्ति बीरमा बच्चा र महिलाले मस्तिष्क अनलक नगरेको भए गुण्डासँग भिड्ने सामथ्र्य बटुल्ने थिएनन् । र, उनीहरु जिन्दगीभर नै पीडित भएर बाँच्थे, अरुलाई हारगुहार गरेर बिताउनुपथ्र्याे र सदैव आफूमा निहीत शक्ति आफैंले नै थाहा नपाएर भित्रभित्रै दबिएर बस्थ्यो ।

मानिसको शारीरिक शक्तिभन्दा मानसिक शक्ति कैयौं गुणा शक्तिशाली हुन्छ । यही शक्तिका कारण मानिस आज संसारको सर्वश्रेष्ठ प्राणी भएर संसारलाई आफ्नो काबुमा राख्न सफल भएको हो ।

विभिन्न असफलताको भोगाइ तथा नकारात्मक कुराहरुको भण्डारणले गर्दा मानिसहरुले मस्तिष्कमा आफूलाई कमजोर ठान्ने, मान्ने जस्ता कुराहरु भर्ने हुनाले उनीहरुले आशातित सफलता प्राप्त गर्न सकिरहेका हुँदैनन् ।

जसका लागि सर्वप्रथम मस्तिष्कलाई अनलक गरेर आवश्यक परेमा मस्तिष्कको पासवर्ड परिवर्तन गर्नुपर्छ । साथै, राम्रो र सकारात्मक पासवर्ड भएमा उसले आशातित सफलता प्राप्त गर्नसक्छ । मानिसको शारीरिक शक्तिभन्दा मानसिक शक्ति कैयौं गुणा शक्तिशाली हुन्छ । जसका लागि लक भएर बसेको मस्तिष्कलाई अनलक गर्नुपर्छ ।

(लेखक मल्ल बैंकर हुन् ।)

यो लेख क्लिकमाण्डु अनलाईनमा ११ कार्तिक २०७८, बिहीबार १२:४४ मा प्रकाशित भएको थियो ।