केहि दिन अघि एउटा गांउमा जांदा त्यहां २–३ जना बालकहरु बिना कुनै निसञ्चोक उफ्रि उफ्रि खेलिरहेका देख्दा आफ्नो बाल्यकालका क्षणहरुको भिडियो दिमागमा प्ले हुन थाल्यो, मेरा पाईलाहरु रेड लाईट देखेर रोकिएको गाडीजस्तै एकाएक रोकिन पुगे । ति बच्चाहरुको अनुहारमा देखिएको उन्माद हांसोका साथ खेलेको देखेर सपेराले बिन बजाएपछि लठ्ठ परेको सांप झै एकोहोरो लठ्ठ परेर तिनिहरुलाई नै हेरिरहें ।
एकातिर ति बच्चाहरु खेलेको लाईभ दृष्य हेरिरहेको थिएं भने अर्काेतिर दिमागले आफ्नो बाल्यकालको भिडियो प्ले गरेर दोहोरा मज्जा लिईरहेको थियो मानौं कुनै सामान एउटा किन्दा अर्काे सामान फ्रि स्किम जस्तो । मनको कुनाको एउटा डिलबाट एउटा सवाल पनि जन्माईरहेको थियो–के आजको युगमा पनि बिना मोवाईल, ल्याप्टप, बिना ईन्टरनेट मानिसहरु यति बिध्न रमाउन सक्छ र?
मनबाट नै फेरी जवाफ पनि आयो– जसरी कर्कलाले पानीलाई धेरै समयसम्म आफूसंग राख्दैनन त्यसरी नै बच्चाहरुले पनि आफ्नो दिमागमा रिस, राग, ईष्र्या, अहंमता जम्मा गरेर राख्दैनन र यहि कारणले गर्दा बच्चाहरु दिल खोलेर रमाउन सक्छन् यसको बिपरित ठुलो मानिसहरुले यि सबै चिजहरुलाई रिजर्भ टंकीमा पानी संकलन गरेजस्तै, लकडाउनमा खाद्यन्नहरु थुपारे जस्तै टन्नै रिस, राग, ईष्र्या, अहंमता थुपारेर राख्ने भएकोले तिनिहरु खुलेर रमाउन सक्दैनन् । यति सोंच्दा सोंच्दा दिमागले आफ्नै बालापानका उत्कृष्ट भिडियो बनाएर प्ले गरेपछि गालामा पहाड बन्ने गरी, मुखमा ओढार बन्नेगरि मस्त मुस्कान अनि हांसोले डेरा जमाउन पुग्यो ।
भंगेराको बच्चा फुर्र फुर्र उड्े झै साथीहरुसंग खेल्दै उफ्रिंदा उफ्रिंदा नुहाएझै निथ्रुक्कै भिजेको शरिर पसिना सुकेपछिको शरिर माड्दा भिजेको सूर्ति माड्दा आउने जस्तै डल्लोका डल्लो मैलो आंउथ्यो । त्यतिबेला शरिर मैलो हुन्थ्यो तर, मन भने बिल्कुलै पुस माघको पारिलो घामजस्तो सफा हुन्थ्यो । कसैसंग एउटा मिठाई भएपनि त्यसलाई टोकेर साथिसंग ओल्टाई पल्टाई टुक्रा चकलेट चुस्दाको आनन्द सर्रर्र जिब्रो मात्र होईन पूरै शरिरले लिन्थ्यो । साथिहरु मध्ये कुनै एकजनाले फिल्म हेर्न गएको छ भने अन्य साथिहरुे उक्त साथीको आएर फिल्मको कथा सुनाउंछ भनेर तलब आउने दिनको झै ब्यग्र प्रतिक्षा गर्थे ।
रमाउनको लागि कुनै बार चाहिन्थेन, कुनै समय चाहिन्थेन, कुनै ठांउ चाहिन्थेन । भे भेट्टायो खेल्यो, जहिले मिल्यो खेल्यो, जहां मिल्यो खेल्यो अनि रमायो, लाग्थ्यो हाम्रो जिन्दगी नै खेल्नको लागि हो, रमाउनको लागि हो, यस्तो लाग्छ कि, कुनै मानिस कसरी रमाउन सकिन्छ भन्ने बिषयमा बिद्यावारीद्यी गर्नुछ भने त्यस बेलाको बाल्यकाललाई महशुस गर्नुपर्छ । शायद त्यस बाल्यकाल जति आजभोली कुनै पनि बयस्क मानिसले रमाउन सक्ला जस्तो लाग्दैन ।
एउटा काठको मूढालाई काटेर मोटरगाडीजस्तो बनाएर आफैले भुम भुम र टिंटिंट गर्दा त आफ्नो गाडी संसारकै उत्कृष्ट गाडी र आफूलाई संसारकै उत्कृष्ट डाईभर ठान्थ्यौं । गाडी खेलमा उक्त गाडीमा चढ्ने पेसेन्जरहरुलाई ठांउ अनुसारको भाडा पनि तय गरिएको हुन्थ्यो र भाडावापत चकलेटका खोलहरु दिनुपथ्र्यौ, जति ठुलो खोल त्यति धेरै पैसा । जो संग जति चकलेटका खोलहरु हुन्थे, त्यो साथी त्यति धेरै धनी पनि मानिन्थ्यो । धनी बन्नको लागि गाडी राम्रो बनाउनुपर्ने, गुच्चा, चुंङ्गी, गट्टा, पौडी जस्ता खेलमा राम्रो हुनुपर्ने हुन्थ्यो ।
बाल्यकालमा साथीभाईहरुसंग मज्जासंग ख्याल ठट्टा त झनै गज्जबको हुने गथ्र्याे । जसले धेरै ठट्टा गर्न सक्यो, उसले आफूलाई ठुलो सुपरस्टार ठान्ने परम्परा बसेको यस खेलमा कोहि पनि नरिसाउने दरिलो आपसी सहमति पनि थियो । कमिला झै एकसुरमा कनै काममा ब्यस्त साथीको हाफ पाईन्टमा कागज वा अन्य कुनै चिजको पुच्छर बनाएर झुण्ड्ईदिने होस् वा सुतिरहेको साथीको कलमले अनुहारमा केरेर जुगा दाह्ी बनाएर कुरुप बनाईदिने होस् या, म बांदर हुं भनेर कागजमा लेखेर ढाडमा टांसिदिने जस्ता ठट्टाहरुले दिनदिनै चार्ली च्याप्लिनको फिल्म हेरेको जस्तो माहोल सृजना गरिदिन्थ्यो ।
पौडी खेल्दा साथीहरुलाई हिलो दलेर मसानजस्तो बनाईदिने, साथीको लुगाभरी कुरो र सासाना कपडामा टांसिने कांढाहरु टांसिदिने, चकलेट भित्र ढुंङ्गा बेरेर चकलेट खा भनेर दिने, बिहान साथी सुतिरहेको खाटमा नै गएर चिसो पानि छर्केर उठाईउने जस्ता सुन्दर पलहरुलाई याद गर्दा प्रचण्ड गर्मिमा भरभूमिमा प्यासले आेंठमुख धांजो फाटेको जमिनजस्ता भईसकेको मानिसले चिसो पानी पिएपछि पाएको आनन्दको अनुभूति हुन्छ ।
जब ठुलो बाढि आंउथ्यो, तब दिनभरजसो हाम्रो ड्यूटि खोलामा नै हुन्थ्यो । खोला तर्ने नसक्ने नसक्ने मानिसहरुलाई खोला तर्न सघाउने अनि त्यो भयंकर उर्लेर आएको बाढिसंग मुकाविला गर्दै साथिहरुमा को छिटो र नजिक खोला तर्ने भन्ने प्रतिस्पर्धाको रिले दौड झै भईरहन्थ्यो । त्यतिबेला हामिलाई न धमिलो पानीको मतलब हुन्थ्यो, न त चिसो पानीकै । मनले बस् पौडी खेलौ भन्थ्यो, खेल्थ्यौं । त्यस्तो हिलो पानीमा दिनभर खेल्दा पनि बिरामी भईन्थेन र कुनै छालाको रोग पनि लाग्थेन । शायद पानी पनि भगवानकै रुप भएकोले हामीलाई खुशी देख्नुभएर जलदेवी पनि खुशि भएर हामीलाई यस्तो मौसममा दिनभरी खेल्दा पनि बिरामी नबनाईदिनुभएको होला ।
ढाडमा घमरा आएर चिलाउंदा माटोको भित्तामा डाढ टांसेर भित्तामा ढाड रगड्ने, तुथ पेष्टको सट्टा सजिवनको डांठले दात माझ्ने, घाउ हुंदा घिउ लगाउने, हिलो माटोमा धेरै खेलेर हात खुट्टाका छालाहरु झर्ने, साथीहरुले घरबाट कसैले चामल, कसैले आलु ल्याएर खोला नजिकै माछा मारेर त्यहिं खाना पकाएर पातमा पस्केर खाना खाने अनि खाएपछि त्यहि खोलाको धमिलो पानीमा उफ्रेर फेरी धुलो, हिलोमा खेल्ने जस्ता कार्यहरु जिन्दगीमा कम्प्यूटरको सिस्टम फाईल जस्तै अमूल्य हिस्सा बन्न पुगेको छ ।
भौतिक चिजहरुको अभाव थियो तर, साथीहरुको सामिप्यताले यि अभावहरुले कहिल्यै तनाव आउन दिएन, जसरी सूर्यको उदयपछि शितहरु हराउंछन्, त्यसरी नै साथीहरुको आगमनपछि हामीमा भएका दुखहरु त्यसै हराउंथे । त्यसबेलाको तुलानामा अहिले कैंयौं गुणा भौतिक सुविधा भएतापनि त्यो क्षण जस्तो अवस्मरणिय क्षणहरु पाउन निकै मुश्किल छ । किन किन मलाई त्यहि बच्चा हुंदाको धुलोमुलो जिवन अति सुन्दर लाग्छ । यदि भगवानले मलाई बरदान माग्नु भनेर भन्नुभयो भने मैले मलाई मेरो बालापनमा फर्काईदिनुहोस् भनेर माग्नेछु । वाह﹗बालापनको त्यो धुलोमुलो जिवन ।
लेखक डा. बुद्धि मल्ल बैंकर हुन् ।
*यो लेख २०७८ माघ २१ गते सेतोपाटी अनलाईनमा प्रकाशित भएको थियो ।