भनिन्छ– क्रिकेट भनेको भलादमीहरुको खेल हो । यसलाई सम्भावनाको खेल पनि भनिन्छ । सन् १९७१ बाट शुरु भएको अन्तर्राष्ट्रिय एकदिवसिय, सन् १८७७ बाट शुरु भएको टेष्ट क्रिकेट र सन् २००४ बाट शुरु भएको टि-ट्वान्टी क्रिेकेटबाट हामीले धेरै कुराहरु सिक्न सक्छौ । यसबीचमा भएका खेलहरु तथा खेलाडीहरुले मानिसलाई धेरै शिक्षाहरु दिएको छ ।
एकदिवसिय क्रिकेट शुरु भएको ३५ बर्षपछि अर्थात् २००६ मार्च १२ मा अष्ट्रेलियाले दक्षिण अफ्रिका बिरुद्ध ४ विकेट गुमाएर ४३४ रन बनायो । ३५ बर्षसम्म एकदिवसिय क्रिकेटमा कुनै पनि टिमले ४०० रन बनाउन सकेको थिएन । यसलाई लगभग असम्भव मानिन्थ्यो तर, त्यहि खेलमा दक्षिण अफ्रिकाले ९ विकेट गुमाई ४३८ रन बनाएर खेल जित्यो र, क्रिकेट सम्भावनाको खेल हो भनेर प्रमाणित गरिदियो ।
उक्त खेलपछि हालसम्म ६ वटा देशले २० पटक ४०० भन्दा माथि रन बनाईसकेको छ । क्रिकेट जस्तै मानिसको जिन्दगी पनि सम्भावनाको खेल हो । सम्भावना छ भन्ने बिश्वास गर्ने मानिसले जिन्दगीमा एकपछि अर्काे चमत्कार गर्न सक्छ ।
अन्तर्राष्ट्रिय क्रिेकटको ३ वटा फरम्याटहरुमध्ये सबैभन्दा छोंटो समयमा सकिने खेल टि-ट्वान्टी क्रिकेटमा एउटा टिमले २० ओभर अर्थात १२० बल मात्र खेल्ने मौका पांउँछ । यो खेलले मौकाको सहि सदुपयोग गर्नुपर्छ भन्ने सिकांउँछ । ब्याट्सम्यानले मौका आउनासाथ चौका छक्का हानेर रन बटुलिहाल्नुपछ किनकि, उसलाई कम बल उपलब्ध हुने कारणले एउटा बलमा रन लिन नसके अर्काे बलमा हानौंला भन्ने छुट कम हुन्छ । जसरी यो खेलमा प्रत्येक बल एकदमै महत्व हुन्छ, त्यसरी नै हाम्रो जिन्दगीमा प्रत्येक मिनेटको उत्तिकै महत्व हुन्छ ।
ब्याट्सम्यानले मौकाको सहि सदुपयोग गरेर चौका अथवा छक्का हानेर आफ्नो टिमको स्कोरलाई उच्चतम बनाउने टि-ट्वान्टी खेलमा ब्याट्सम्यानको मुख्य ध्यान भएझै मानिसले पनि आफ्नो जिवनमा मौकाको सहि सदुपयोग गरेर आफ्नो क्षेत्रमा उच्चतम फड्को मार्न प्रयासरत हुनु्पर्छ । सारंशमा यो खेलबाट जिवनमा मौका आउनासाथ फड्को मार्ने प्रयास गर्नुपर्छ भन्ने शिक्षा लिन सकिन्छ ।
जसरी महान खेलाडीहरुमा तिनै वटा फरम्याटमा खेल्नसक्ने गुण बनाएका छन् । त्यसरी नै मानिसले जिवनमा क्रिकेटको तिनै फरम्याटका नीतिहरुलाई आवश्यक्ता अनुुसार लागु गर्न सकेमा सफलता पाउनेमा कुनै शंका रहँदैन । क्रिकेट जस्तै मानिसको जिवन पनि सम्भावना नै सम्भावनाले भरिएको हुन्छ । टि(ट्वान्टी, एकदिवसीय र टेष्ट खेलको समिश्रण भए मानिस जीवनमा सफल हुन्छ ।
एकदिवसिय क्रिकेट टि-ट्वान्टीमा भन्दा अलि लामो र टेष्ट म्याच भन्दा छोंटो हुन्छ जसमा एउटा टिमले ५० ओभर अर्थात ३०० बल खेल्ने मौका पांउछ । त्यसैले यो फरम्याटमा खेलाडीहरु टि-ट्वान्टीमा भन्दा केहि संयम र टेष्ट म्याचमा भन्दा केहि आक्रमक हुन्छन् । यो क्रिकेटमा खेलाडीहरु मध्ययम गतिमा खेल्छ्न्, ब्याट्म्यानहरुले बललाई केहि पुर्नबिचार गरेर मात्र शट हान्छन् ।
बलरहरुले पनि ब्याट्सम्यानलाई आउट गर्नको लागि ठुला ठुला शट हान्नको लोभ्याउने गर्छन् जसले गर्र्दा केहि बलहरु खेर गएतापनि अर्काे बलबाट क्षतिपूर्ती गर्ने अवसर हुन्छ । मानिसले पनि ब्यवसायिक तथा पेशागत जिवनमा संधै ठुलो ठुलो फड्को मार्न मात्र खोजेर हुंदैन । एकचोटी फड्को मार्न मारेपछि सन्तुलन राख्नको लागि परिस्थिति तथा बातावरणको पनि बिष्लेशण गनुपर्छ ।
धेरैजसो ब्याट्म्यानहरु लगातार ठुला ठुला शटहरु हान्ने क्रममा आउट हुन्छ्न भने बलरहरु पनि एकैप्रकारका बलहरु फाल्नाले धेरै रनहरु दिईरहेका हुन्छन् । समग्रमा एकदिवसिय क्रिकेटबाट हामिले संयमित हुन, जिवनमा एकनासले अघि नबढी फरक प्रयोग गर्न, आवश्यक पर्दा ठुलो फड्को पनि तयार हुन र परिस्थिति तथा अवसरको पहिचान गरेर अगाडी बढ्ने शिक्षा लिन सक्छौं ।
५ दिनसम्म खेलिने टेष्ट म्याच अन्तराष्ट्रिय क्रिकेटको सबैभन्दा लामो समयसम्म खेलिने खेल हो । यस खेलमा ब्याट्सम्यानले आउट नहुंदासम्म खेल्न सक्छ भने बलरले पनि जतिसुकै ओभर पनि बलिङ्ग गर्नको लागि छुट हुन्छ । यो खेल धैर्यताको प्रतिक हो जसमा ब्याट्सम्यानले बिपक्षी टिमको उत्कृष्ट बलरलाई जतिसुकै ओभरको लागि पनि झेल्नुपर्ने हुन्छ । टि-ट्वान्टीमा एउटा बलरलाई ४ ओभर र एकदिवसियमा १० ओभरसम्म मात्र बलिङ्ग गर्न पाउने हुन्छ ।
तर, टेष्ट म्याचमा एउटै उत्कृष्ट बलरले पटक पटक आक्रमक बलिङ्ग गरिरहंदा पनि ब्याट्सम्यानले प्रतिरक्षा गर्दै आफ्नो विकेट बचाउने अनि अनुकुल हुंदा रन बटुल्ने प्रयास गरिरहनुपर्छ । यो फरम्याटमा धेरै रन बनाउनुभन्दा क्रिजमा टिकिरहनु महत्वपूर्ण हुन्छ । यसमा बिपक्षि टिमले बनाएको रन जति आफ्नो टिमले रन बनाउन नसकेतापनि ब्याट्सम्यानहरु धैर्यताका साथ क्रिजमा टिकिरहि विकेट नगुमाएमा खेल हार्दैन ।
टेष्ट क्रिकेटमा जस्तै नै मानिसले जिवनमा तत्कालै फड्को मार्न नसकेता पनि धर्यताका साथ आफ्नो जिम्मेवारीमा खटिरहे उ हार्दैन। लगातार ५ बलमा रन बनाउन नसके पनि ओभरको अन्तिम बलमा चौका हान्यो भने उ सफल मानिन्छ ।
त्यसरी नै मानिसले लगातार असफता भोगिरहे पनि धैर्य गरि अनवरत मेहनत गरिरहेमा एकपटक अवश्य सफल हुन्छ । समग्रमा टेष्ट म्याचबाट मानिसले धर्य हुन, परिस्थितीको सहि मूल्याङ्कन गरेर मात्र निर्णय लिन, चुनौतिहरुको डटेर सामना गर्न सिक्नुपर्छ ।
सन् १९९३ मा अष्ट्रेलियाका स्पिनर शेन वार्नले ईग्ल्याण्डमा ब्याट्सम्यान माईक ग्याटिङ्ग बिरुद्ध फ्याकेको बललाई बल अफ द सेन्चुरी घोषित गरियो । शेन वार्नको बलिङ्ग यति जादुमय थियो कि ब्याट्सम्यानले बलले स्टम्पमा लागेर आफू आउट भएको समेत पत्तो नै पाएनन् । माईक ग्याटिङ्गले बांया तर्फबाट आएको बल टर्न भएर दांया तर्फको स्टम्प उडाईदेला भनेर शायद सोंचेका पनि थिएनन् होला ।
बास्तवमा अधिकांश मानिसहरु आफू कुन कारणले असफल हुन्छु भन्ने पत्तौ नै पांउदैनन् । र, उनीहरु असफल भईसकेपछि मात्रै पश्चाताप गर्छन् । बलको दिशालाई नबुझे जस्तै मानिसहरु पनि परिस्थितिलाई राम्रोसंग नबुझ्दा असफल हुन्छन् ।
अहिले अन्तर्राष्ट्रिय क्रिकेटमा बिराट कोहली, क्रिश गेल, जोय रुट, ट्रेन्ट बोल्ट, रशिद खान जस्ता खेलाडीहरु ३ वटै फरम्याटको लागि उत्कृष्ट छन् । उनिहरु सबै खालका क्रिकेटमा आवश्यक्ता अनुसार खेल्न सक्ने भएकोले अहिले सबै खेलमा आफ्नो दमदार प्रदर्शन गर्न सफल भईरहेका छन् । यी खेलाडीहरुबाट परिस्थितीलाई बुझ्ने र सोहि अनुसार आफूलाई ढाल्ने कला सिक्नुपर्छ यसको सबैभन्दा गतिलो उदाहरण बिराट कोहलीले २००६ कर्नाटक बिरुद्ध दिल्ली रणजी ट्रफी क्रिकेटमा देखाईसकेका छन् ।
कर्नाटकल बनाएको ४४६ को बिशाल योगफलको प्रत्युत्तरमा आफ्नो टिम दिल्लिले सस्तैमा ५ विकेट गुमाएपछि १८ बर्षिय बिराट कोहली ब्याटिङ्गमा उत्रिएका थिए र पहिलो दिनको खेल समाप्त हुंदा अबिजिन ४० रन बनाई दिल्लिको स्कोर १०३ मा पुर्याएका थिए ।
तर, खेल समाप्त हुनासाथ उसले उसको पिताको निधन भएको दुखद खबर पांउँदा पनि उसले टिममा आफ्नो आवश्यक्ता महशुस गरेर दोश्रो दिन ब्याटिङ्गमा उत्रिएर ९० रन बनाई टिमलाई हारबाट जोगाएर पिताको दाहसंस्कारको लागि जान्छन् । परिस्थिति अनुसार निर्णय गर्न सकेको कारणले बिराट कोहलीलाई आज क्रिकेटको भगवान मानिने सचिन तन्दुल्कारसंग तुलना गरिन्छ ।
क्रिकेटका ३ वटा फरम्याटका खेलहरु रहेजस्तै मानिसले जिवनमा लिने नीतिहरु पनि ३ वटा फरम्याटमा बिभाजन गर्न सकिन्छ । १, टि–ट्वान्टि जस्तो आक्रमक २, एकदिवसिय जस्तो आक्रमक र संयमितको मिश्रण ३, टेष्ट जस्तो संयमित अर्थात धर्यवान ।
कुनै एउटा मात्र फरम्याटमा राम्रो खेल्ने खेलाडीहरुको खेल हेरेर मानिसहरुले मनोरञ्जन लिन्छन् र उनिहरुलाई सम्झन पनि सक्छन् । तर, महान खेलाडीहरुले लागि आवश्यक्ता अनुसार सबै फरम्याटमा उत्तिकै शशक्त प्रर्दशन दिएका छन् । जस्तैः सचिन तेन्दुल्कार, ब्रायन लारा, शेन वार्न, रिकि पोण्टिङ्ग, बासिम अक्रम, मुथैया मुरलीधरन, आदि ।
जसरी महान खेलाडीहरुमा तिनै वटा फरम्याटमा खेल्नसक्ने गुण बनाएका छन् । त्यसरी नै मानिसले जिवनमा क्रिकेटको तिनै फरम्याटका नीतिहरुलाई आवश्यक्ता अनुुसार लागु गर्न सकेमा सफलता पाउनेमा कुनै शंका रहंदैन ।
क्रिकेट जस्तै मानिसको जिवन पनि सम्भावना नै सम्भावनाले भरिएको हुन्छ । टि-ट्वान्टी, एकदिवसीय र टेष्ट खेलको समिश्रण भए मानिस जीवनमा सफल हुन्छ ।
-डा. बुद्धि मल्ल