जन्मघरको झुपडी घरमा पनि गर्व लाग्छ मलाई,
त्यहांको सानो जमघट पनि पर्व लाग्छ मलाई ।।
धनको पनि बर्गिकरण भईसकेछ को के मा धनी भनि,
त्यहां कमाएको हजार पनि अर्ब लाग्छ मलाई ।।

त्यहांका झारसंग पनि नजिकको नाता पांउछु,
नातेदार, छिमेकिहरुमा मांयाको दाता पांउछु ।।
देख्न पाएको छैन यि आंखाले भगवानलाई आजसम्म,
त्यहां म जन्मेको भगवान धर्तिमाता पांउछु ।।

केहि गुमाएपनि जित लाग्छ त्यहां मलाई,
खोलाले सुसाउंदा पनि गित लाग्छ मलाई ।।
कमाएर, खाएर, लाएर मस्त छन् मानिसहरु आजकल,
अभावकै बिचमा पनि आनन्दित लाग्छ त्यहां मलाई ।।