बुवा तपांई परिवारको बलियो मियो,
जिन्दगी बारे बुझाई कति सरल थियो ।।
न कुनै लोभ लालच न कुनै ठुलो रहर,
कडा मेहनती काममै ब्यस्त हर प्रहर ।।
परिवार खुशि भए मिल्थ्यो तपांईलाई राहत,
हर मुश्किलसंग लड्न रह्यो तपांईको हात ।।
आफ्ना सपना त्यागेर पनि खुशि भईदिने,
स्वास्थ अनुकुल नहुंदा पनि काममा गईदिने ।।
स्नेह अपार तर ब्यक्त नगर्ने बानी,
कहिल्यैे हिम्मत नहार्ने अनौठो कहानी
नमिठै भएपनि मिठो मान्नुहुन्थ्यो,
मनमै आनन्द हुनुपर्छ ठान्नुहुन्थ्यो ।।
भुल्न सक्दिन सानोमा सुनाउनुभएको कथा,
मेहनतमै बिश्वास अनि पौरखसंगको नाता ।।
तपांई हाम्रो लागि ईश्वरको छांया,
स्वर्गमा रहेर पनि हुनुहुन्छ हाम्रो दांयाबांया ।।
हाम्रो लागि तपांई सबैभन्दा महान,
सबैभन्दा माथि राख्दछु तपांईको स्थान ।।
तपांईको सेवाले मिल्थ्यो स्थान स्वर्गमा,
तपांईको अर्तिले हिंड्दैछु असल मार्गमा ।।
सोंच्नै सक्दिन तपांई बिनाको मेरो पहिचान,
तपांई नै भगवान स्विकार्नुस् पूर्ण सम्मान ।।
बस, ट्रकले ठक्कर दिंदा पनि एकदमै मजबुत,
प्रणाम छ तपांई एक हिम्मतिलो सपुत ।।
सानोतिनो पिडाले तपांईलाई रुवाउन कहां सक्थ्यो र?
क्यान्सर बाहेक अरु रोगले हराउन कहां सक्थ्यो र?
परिवारको खुशिमा अन्धकार छाउन दिने छैन,
तपांईको आंखामा आंशु आउन दिने छैन ।।
स्वर्गमा आनन्दले रमाएर बस्नुहोला,
सबैको हृदयभित्र घर बनाएर बस्नुहोला ।