होलीलाइ रंगहरुको पर्व, मांयाको पर्व तथा बसन्त ऋतु आगमनको पर्वको रुपमा मनाईन्छ । बिभिन्न रंगहरु खेलेर मनाईने यस पर्वलाई भगवान राधा र कृष्णको अटुट प्रेमको प्रतिकको रुपमा तथा बसन्त ऋतुको आगमनसंगै हरियालीलाई स्वागत गर्ने अवसरको रुपमा हर्षाेउल्लासको साथ मनाईन्छ ।

होलीको बिभिन्न रंगहरु उत्साह, उमंगको प्रतिक हुन् जसले जिवनमा रस, रंग भर्नको लागि संकेत गर्दछ । यि रंगहरुले जिवनमा नकरात्मक बिषयहरुलाई हटाएर मनमा सकरात्मक बिषयहरु भर्न हामीलाई उत्प्रेरित गरेको छ भने आफ्नो जिवन रंग बिहिन अर्थात उदासिन देख्ने मानिसहरुलाई जिन्दगी रंगिन छ, सुन्दर छ भन्ने कुरा उजागर गर्ने प्रयास गरेको देखिन्छ । यस पर्वले मानिसहरुमा खुशी छर्नुको साथसाथै मानिसका लागि अत्यन्तै उपयोगी निम्न बमोजिमका महत्वपूर्ण सन्देशहरु पस्कने प्रयास गरेको देखिन्छ ।

भावनात्मक एकता ː यो यस्तो एउटा चाड हो, जसले सम्पूर्ण जातजाती धर्म, संस्कृतिलाई एकैठांउमा जम्मा गरेर खुशियाली साटासाट गराउने अवसर प्रदान गरिदिन्छ । चाहे धनी होस् वा गरिव, नारी होस् वा पुरुष, चाहे फरक बिचारका बिभिन्न पार्टीकै मानिसहरुको साथै बिभिन्न देशका मानिसहरुलाई पनि एकै ठांउमा होली खेलेर रमाएको देख्न सकिने भएकोले यस पर्वले समाजमा रहेका बिभिन्न खालका भेदभावहरुलाई हटाएर एकताबद्ध हुनुपर्ने सन्देश दिएको छ ।

टिम वर्क ː होलीमा एउटा गज्जबको टिम वर्क देख्न सकिन्छ । बिभिन्न ब्यक्तिहरु टिम बनाएर होली खेलिने भएकोले यसले साथिभाईहरुमा मिलेर काम गर्ने, अगाडी बढ्ने, एकले अर्काेलाई खुशि पार्ने, सहयोग गर्ने आदि कार्य गरियो भने हामीले सफलता प्राप्त गर्न सक्छौ र हामी जिवनमा खुशि रहन सक्छौं भन्ने सन्देश दिएको छ ।

खुशियाली रहन ː यो चाडमा सबैजना खुशि भएको देख्न सकिन्छ । चाहे जस्तो सुकै गम्भिर स्वाभावकै मान्छे किन नहोस्, उ पनि आफ्नो लागि नभए पनि बाल बच्चाहरुलाई खुसि पार्न वा उनिहरुको खुशिमा सामिल हुनको लागि होली खेल्छन् र हांस्छन् अनि रमाउंछन् । शायद यो मात्रै यस्तो पर्व हो जसमा मानिसहरु होलीको रंगहरुले आफ्नो शरिर कुरुप देख्दा पनि मन खोलेर हांस्छ सक्छन, नाच्न सक्छन तर, अरुबेला कुरुप देखे रुन्छन् । अरुलाई खुशि देखेर पनि खुशि हुन सकिन्छ, हामी खुशि रह्यौं भने हाम्रा आसपासका मानिसहरु पनि खुशि हुन सक्छन् भन्ने सन्देश यस पर्वले दिएको छ ।

भाईचारा ː नेपालीमा एउटा उखान छ “भाई फुटे गवार लुटे” । यस पर्वले आफन्त, साथिभाईहरु मिलेर होली खेलिने भएकोले एक आपसमा मिल्न सक्यो भने जिन्दगी सुन्दुर एवं खुशियाली हुन्छ भन्ने सन्देश दिएको छ भने एक आपसमा सम्बन्ध सुधार गर्न एवं रहेकोका सम्बन्ध अझै मजबुत बनाउनको लागि यस पर्वले महत्वपूर्ण भूमिका खेलेको छ । एक आपसमा मिलेर बस्यो भने खुशि गुणात्मक हिसाबले बढछ् भन्ने पाट पनि यस पर्वले हामिलाई सिकाएको छ ।

जिवनमा हरियालीː यस पर्वले हाम्रो जिवनमा हरियाली कत्तिको महत्व छ भनेर सन्देश प्रवाह गर्न खोजेको छ । मानिसहरु अब बसन्त ऋतुको आगमनसंगै हरियाली छांउछ आशाका साथ मनाईने यस पर्वले बोट बिरुवामा मात्रै होईन हाम्रो जिवनमा पनि संधैभरी नै हरियालीको अर्थात आनन्द, स्वास्थ एवं शान्तिको आगमन गराउनुपर्छ भन्ने यस पर्वले दिन खोजेको सन्देश निक्कै गहिरो रहेको छ ।

सत्यको जितː पौराणिक कथा अनुसार भगवान बिष्णुका महाभक्त प्रल्हादले राक्षस होलिकालाई मारेर दुष्टमाथि सत्यको जित गराउनुभएको उपलक्ष्यमा होली पर्व मनाउन थालिएकोेले यस पर्वले सत्यको अवश्य नै जित हुन्छ भनेर मानिसहरुलाई सत्यको बाटोमा हिड्नुपर्छ भन्ने प्रेरणा दिन खोजेको छ । होलीले मानिसहरुलाई आफूभित्र रहेका होलिका जस्तै खराब पक्षलाई नष्ट गर्नुपर्छ भन्ने शिक्षा समेत दिन खोजेको छ ।

सम्झौता ː यो चाडमा कुनै कुनै मानिसहरु होली खेल्नको लागि तयार नहुन पनि सक्छन्, तापनि उनिहरुलाई कसैले रंग लगाईदिए पनि सकभर रिसाउंदैनन् बरु अरुहरुको खुशिको लागि आफ्नो ईच्छा, आकंक्षाको सम्झौता समेत गरिदिन पनि तयार भईदिन्छन् । यसबाट हामिले जिवनमा कतिपय कुराहरु आफुलाई मन नपरेपनि कहिलेकांही परिस्थिति अनुसार सम्झौता गरेर बातावरणलाई सकरात्मक बनाउन पनि सक्नुपर्छ भन्ने यस पर्वले सन्देश दिन खोजेको छ ।
होलीको अवसरमा दिईने हिन्दिमा एउटा शुभकामना छː

पिचकारीका धार,
गुलालका बौछार,
आपनोंका प्यार,
यहि है यारों, होलीका त्यौहार ।।

माथिको शुभकामनाको साथसाथै होलीको यस पावन अवसमा तपांईको जिवनमा होलीको रंगहरु जस्तै रंगहरुको बर्षा होस्, भगवानले सम्पूर्ण मनोकामना पूरा गरुन् होलीले बसन्त ऋतुको आगमन गरेझैं तपांईको जिवनमा पनि सदा हरियाली छाओस्, तपांईको संधै सुस्वास्थको कामना गर्दै तपांईको जिवन संधै खुशियालीले भरपूर होस् भन्ने कामना गर्दछु । जिवन निराश बनाएर ब्यतित गर्न नभई कलरफूल बनाएर आशाहरुको भण्डारण गर्नको लागि हो, दुखी भएर बांच्न होईन, खुशि भई हांस्न हो । यस होलीले तपांईहरुको जिवन निरर्थक होईन, सार्थक बनाओस, तर्पांईको जिन्दगी होलीको रंग जस्तै रंगिन बनोस्् भन्ने शुभकामना दिन चाहान्छु । ह्याप्पि होली ।