आश्वासन बांड्दै हिंड्छ कतै नेता पो हुन्छ कि,
दिनदिनै ढांट्दै हिंड्छ कतै नेता पो हुन्छ कि ।।
चर्काे बोल्न, गाली गर्न पनि सिकेछ आजकल,
मिलेकालाई भांड्दै हिंड्छ कतै नेता पो हुन्छ कि ।।
**************************************
ठुलोको झोला भिर्छ कतै नेता पो हुन्छ कि,
कहिले यता कहिले उता छिर्छ कतै नेता पो हुन्छ कि ।।
गर्छ लेखाजोखा आफ्नो फाईदा अनि नोक्सानको,
कहिलेकांहि गिर्नु गिर्छ, कतै नेता पो हुन्छ कि ।।
************************************
अरुलाई उस्क्याउन जानेको छ कतै नेता पो हुन्छ कि,
सोझा साझाले मानेको छ कतै नेता पो हुन्छ कि ।।
बिकास गर्छु, परिमर्का बुझ्छु भनिराख्छ आजभोली,
आफूलाई भिजनरी ठानेको छ कतै नेता पो हुन्छ कि ।।
*****************************************
ठुलाको गुनगान गांउछ कतै नेता पो हुन्छ कि,
उनिहरुकै घर धांउछ कतै नेता पो हुन्छ कि ।।
दौरा सुरवाल पनि लगाउन थालेछ यो मान्छेले,
कूर्चिमा नै रमांउछ आजकल कतै नेता पो हुन्छ कि ।।
****************************************
-डा. बुद्धि मल्ल