हतारमा पकाएको खाना मिठो कहां हुन्छ र?
फाईभ जी जस्तैै काम छिटो कहां हुन्छ र?
*******************************
धर्य बिना हुने सफलता क्षणिक हुन्छ साथी,
दुई चार थान नोटले बिटो कहां हुन्छ र?
*******************************
जिन्दगी संधै एकनासको हुंदैन बुझौं यो तथ्य,
मानिस संधै कल्कलांउदौ ठिटो कहां हुन्छ र?
*******************************
बाटो हेर्दै बस्ने कहिल्यै पुग्दैन गन्तब्यसम्म,
पसिना बगाएर पाएको फल तितो कहां हुन्छ र?
*******************************
घाम पानी सहेर उम्रेको बिरुवा मजबुत हुन्छन्,
बादल मडारिंदा आकाश निलो कहां हुन्छ र?
*******************************
सबै चाहान्छन् अरुले सम्मान गरोस् भनेर,
राम्रो ब्यवहार बिना सम्बन्ध गहिरो कहां हुन्छ र?
*******************************
सजिलो हुन्छ अरुको दोष भेट्टाउन जो कोहिलाई,
आफ्नो गल्ति स्विकार्न मुटु दरिलो कहां हुन्छ र?
-डा. बुद्धि मल्ल