हामीले जीवनमा जे पाइरहेका हुन्छौं, ती सबै हाम्रै कर्मको फलको प्रतिफल हो । मानिसको जीवनमा आइपर्ने भोक, प्यास, धनी, गरिब, सुख, दु:ख, सफलता, असफलता आदि सबै हाम्रै कर्मको प्रतिफल हो । सामान्य बोलिचालीमा यदि कुनै मानिसले कुनै ठूलो सफलता प्राप्त गरेको छ भने त्यस मानिसलाई भाग्यमानी भन्ने गरिन्छ जस्तै चिठ्ठा पर्नु, कुनै बहुमुल्य सामान भेट्टाउनु आदि।
तर, धर्मग्रन्थहरुमा यस्ता खालका सफलतालाई पनि पूर्वजन्मको कर्म भनेर व्याख्या गरेको पाइन्छ, यसले पनि मानिसका साना ठूला सफलता, असफलता तथा परिणामहरु आफ्नै कर्मको प्रतिफल हो भन्ने बुझाउँछ ।
एकजना साहुजीले अफिसमा म्यानेजरलाई रिसको आक्रोश पोख्दै सबैजनाको अगाडि हप्काउँछन्, म्यानेजरलाई पनि साहुले कराएकोमा खपिनसक्नु चित्त दुख्छ । तर, साहुलाई उक्त आक्रोश व्यक्त गर्न सक्दैनन् र आक्रोशलाई दबाएर राख्छन् । घर पुगेपछि तरकारी नमिठो लागेको निहूमा दबाएर राखेको आक्रोश एकैचोटी श्रीमतीलाई पोख्छन् ।
श्रीमती पनि दिनभर घरको काम गर्दा थकित भएको र श्रीमानबाट त्यस्तो ब्यवहार पाएको झोंकमा घर फोहर गरेको भनेर सानो छोराको सातो लिन्छिन् । त्यसपछि सानो छोरा पनि आमाले बिनाकारण कराएको भनि रिसाउँदै घरबाट निस्कन्छन् र बाटोमा सुतिरहेको कुकुरलाई लात्ताले हानिदिन्छन् ।
बच्चाको लातले भुतुक्कै भएको कुकर कराई कराई भाग्छ र एउटा घरको बाहिर पत्रिका पढिरहेको मानिसलाई गएर टोकिदिन्छ । कुकुरको टोकाई खाने मानिस अरु कोही नभएर त्यही साहुजी हुन्छ जसले म्यानेजरलाई सबै मानिसको अगाडि हप्काएको थियो ।
माथिको कथामा साहुजीले म्यानेजरमाथि आक्रोश पोखेको कारणले उक्त आक्रोश म्यानेजरबाट श्रीमती, श्रीमतीबाट छोरा, छोराबाट कुकुर हुँदै कुकुरबाट अन्तमा उनी साहुजीमा सर्न पुगेको थियो । साहुजीले आक्रोशको सट्टा सम्झाएर बुझाएर उक्त कुरा भनेको भए म्यानेजरले पनि श्रीमतीसँग राम्रो ब्यवहार गर्ने थियो । र, फलस्वरुप श्रीमती पनि छोरासँग आक्रोशित हुनुपर्ने अवस्था आउने थिएन अनि कुकुरले पनि पिटाई खाने थिएन । र, कुकुरले पनि साहुजीलाई टोक्दैनथ्यो ।
न्यूटनको चालको तेश्रो नियमअनुसार प्रत्येक क्रियाको बराबर र बिपरित प्रतिक्रिया हुन्छ भन्ने सिद्धान्तले पनि हामीले गर्ने हर ब्यवहार अनुसार नै प्रतिफल पाउँछौ भन्ने बुझिन्छ । त्यसैले नै यो संसारमा बुद्ध, हिटलर जस्ता ब्यक्तिहरुले उनीहरुको ब्यवहारअनुसार मानिसहरुले सम्मान गर्छन्, बुझ्छन् ।
उनीहरुको देनअनुसार बुद्धलाई भगवान मानेर पुज्छन् । र, उनको सिद्धान्तलाई अहिले २५०० बर्षपछि सम्म पनि सम्मानको साथ पालना गर्छन् भने हिटलरलाई एउटा निरंकुश ब्यक्तिको रुपमा, एकजना नराम्रो ब्यक्तिको प्रतिकको रुपमा लिन्छन् । यदि कुनै मानिस नराम्रो लागेमा भन्ने गरिन्छ कि, कस्तो हिटलर जस्तो मानिस रहेछ ।
ठूलाबडाले आशिर्वाद दिँदा भन्ने एउटा प्रचलित आशिष हो । ठूलो मानिस बन्नु, असल मानिस बन्नु । आजभोलि एउटा प्रचलित भनाइ छ ठूलो होइन, असल मानिस बन्नू । सायद, यस भनाइको तात्पर्य असल मानिस भएपछि उक्त मानिस स्वत: ठूलो मानिस भइहाल्छ । सबै ठूला मानिस स्वभावले, ब्यवहारले असल मानिस हुँदैनन् । तर, सबै असल मानिस भने उसको स्वभावले, ब्यवहारले ठूला बन्छन् । त्यसैले कतिपय अवस्थामा हामिले ठूला मानिसहरुलाई पनि भन्ने गर्छौं । कस्तो सोमत नभएको मानिस रहेछ, ठूलो मानिस भनेर के गर्ने ब्यवहार भने ५ पैसाको पनि छैन ।
एकजना नेपाली जापान जान्छन् । एयरपोर्टमा उसलाई लिनको लागि उसको एकजना जापानी साथी आउँछन् । एयरपोर्टबाट घरमा जाने क्रममा रातको सुनसान सडकमा रातो ट्राफिक लाइट बल्छ र जापानीले गाडी रोक्छन् । र, हरियो लाइट नबल्दासम्म कुर्छन् । त्यो देखेर नेपालीले यताउता हेर्छ, कुनै गाडी पनि छैन, ट्राफिक पनि छैन किन रोकिरहेको होला भनेर जापानी साथीलाई भन्दा जापानीले जवाफ दिन्छन् ।
कुनै गाडी छैन, ट्राफिक छैन, ५ मिनेट समय बचाउने भन्ने होइन । तर, यदि मैले अहिले ट्राफिक नियम तोडेँ भने पहिलो कुरा त म आफैंलाई नियम तोड्नु कुनै ठूलो कुरा होइन भन्ने लाग्छ । र, अर्कोपटक पनि तोड्न सक्छु र बानी पर्नसक्छ भने दोश्रो कुरा चाहीँ यदि मैले रातो लाइटमा पनि गाडी चलाएको वरपरका घरबाट कुनै बच्चाहरुले देखिहाल्यो भने उनीहरुले नियम तोड्न सिक्न सक्छ जसको जिम्मेवारी म हुन्छु त्यसैल, म मेरो कारणले कुनै पनि बच्चा, मानिसहरुलाई गलत शिक्षा दिने ब्यक्ति बन्नुहुँदैन भनेर नियमको पालना गरेर बसेको हो ।
कोही नभए पनि १ घण्टा नै रातो लाइट बलिरहेपनि म कुरिरहन्छु । तर, नियम तोड्न सक्दिनभन्दा नेपाली दंग पर्दै जापानीको प्रशंसा गर्यो ।
माथिको प्रसङ्गमा जापानीजले नियम कानूनको पालना गर्ने प्रतिवद्धताको साथसाथै उ स्वयंममा आचार संहिताको पालना र राम्रो संस्कार हुनुपर्छ भन्ने भावनाले ठूलो महत्व राखेको देखिन्छ ।
यस्तै संस्कारले गर्दा जापानमा कुनै पनि सामान हराउँदैन र यदि हराएको सामान छ भने पनि पाइन्छ भन्ने विश्वास गरिन्छ । त्यहाँ मानिसहरु एक अर्काप्रति राम्रो ब्यवहार गर्छन् । र, त्यसको प्रतिफल स्वरुप अन्य मानिसले पनि राम्रो संस्कार फर्काउँछन् ।
संस्कार विकास गर्नका लागि स्कूलदेखि नै बच्चाहरुलाई कितावी ज्ञानको साथसाथै यस्ता संस्कारहरु सिकाइन्छ, उनीहरुलाई मेहनत गर्न सिकाइन्छ, सफा राख्न, अरुलाई मद्दत गर्न सिकाइन्छ ।
केही समयअघि फेसबुकमा न्यूजिल्याण्डका प्रधानमन्त्री एक्लै साइकल चढेर कार्यालय गइरहेको फोटो भाइरल भएको थियो । त्यस्तै बाराक ओबामाले राष्ट्रपति पद त्यागेपछि कलेजमा पढाउन थालेको र उनको छोरी एउटा कम्पनीमा काम गरेको, बिभिन्न देशका राष्ट्र प्रमुखहरुले छाता आफैं ओढेको आदि तस्बिरहरु देख्न पाइएको थियो ।
साइकल चढेर अफिस जानु, पढाउन जानु, राष्ट्रपतिको छोरी भएर पनि सानोतिनो काम गर्नु यी सबै एउटा राम्रो संस्कारको प्रतिफल हो । यी ठूला मानिसहरु पहिला संस्कार आफूबाट शुरु गर्नुपर्छ, आफूले पालना गर्नुपर्छ भन्ने मान्यता राख्दछन् र फलस्वरुप यि देशका मानिसहरु पनि सोहि संस्कार सिक्छन् ।
एउटा राम्रो संस्कारको विकास गर्नका लागि सर्वप्रथम हामीले आचारसहिंताको पालना गर्नुपर्छ, जसको पालनाले हामीमा एउटा राम्रो ब्यवहारको बिकास हुन्छ । र, राम्रो ब्यवहारले राम्रो संस्कारको विकास हुन्छ । हाम्रो नराम्रो ब्यवहारले धिक्कार पाउँछ भने असल ब्यवहारले सत्कार पाउँछ । सत्कार पाउनका लागि असल ब्यवहार दिने बानी बसाल्नुपर्छ ।
असल ब्यवहार गर्ने मानिसले सम्मान पनि पाउँछ, सम्मान पाउने मानिसले कमाण्ड पनि पाउँछ अनि मानिसहरु उसको वरिपरी झुम्मिन्छ । असल ब्यवहारले असल संस्कारको विकास हुन्छ । धिक्कार पाउनु वा सत्कार पाउनु मानिसको ब्यवहारमा भरपर्छ ।
(लेखक डा मल्ल बैंकर हुन् ।)
*यो लेख क्लिकमाण्डु अनलाईनमा प्रकाशित भएको थियो ।