पोखरा महानगरपालिकाले प्रत्येक हप्ता बृहत सरसफाई कार्यक्रम गर्न लागेको १४८ हप्ता पुगिसकेको छ । यस अभियानमा पोखराका बिभिन्न संघसंस्था, नागरिक अगुवा तथा सर्वसाधारणहरु स्वत स्र्फूत संलग्न भईरहेका छन् । अभियानका अगुवा राम पौडेल लगायत अन्य केहि ब्यक्तिहरु अभियानको शुरुदेखि नै निरन्तर खटिनुभएको छ ।
सफाई अभियानको १४८ औं हप्तासम्म आईपुग्दा अभियानले पोखरा महानगरपालिकालाई सफा राख्न केहि हदसम्म सफल पनि भएको छ । यो अभियानमा साथ दिनु सम्पूर्ण जिम्मेवार नागरिकको दायित्व हो । केहि अभियानकर्ताहरु पहिलो हप्ताको कार्यक्रमदेखि नै सक्रिय रुपमा महानगरको जुनसुकै क्षेत्रमा पनि पुगेर सफाई कार्यक्रममा खट्टिनुभएको छ ।
तपांई हाम्रो घर आंगनमा सरसफाई गर्न महानगरको कुना कुनाबाट अभियानकर्ताहरु आउनुहंदा के हामि मुकदर्शक बनेर उहांहरुले सफाई गरेको हेर्ने हाम्रो नैतिकताले मिल्छ ? आफ्नो घर आंगन, टोल सफा राख्नु हाम्रो कर्तब्य होईन ? यो कुरा बुझ्नु जरुरी छ कि, हाम्रो फोहरमा बस्ने बानी परेको भएर हाम्रै घर आंगन अगाडी फोहर हुंदा समेत सफा नगरेका हौं र अभियानकर्ताहरु तपांई हामिलाई सफा बातावरणमा राख्नको लागि तपांई हाम्रो घर अगाडी सरसफाई गर्न आउनु परेको हो । यस्तो फोहरमा बस्ने बानि कहिलेसम्म बसाल्ने ? अब सोंच्नु जरुरी छ ।
बिडम्बना नै मान्नुपर्छ कि, तपांई हामि कतिपयले अझैसम्म आफ्नो घर आंगन फोहर भएको हेरेर बसिरहेका छौं भने सरसफाई अभियनकर्ताहरु अझै पनि तपांई हामिले गरेको फोहर सफा गरेर थाक्नुभएको छैन । अब जाग्न कत्तिपनि ढिलाई नगरौं । सरसफाई अभियनकर्ताहरु तपांई हाम्रो घर दैलोमा आउनुभयो भने उहांहरुलाई आजसम्म हाम्रो घर दैलो सफा गरिदिनुभई हाम्रो आंखा खोलिदिनुभएकोमा धन्यवाद दिई अब हाम्रो घर दैलो, टोल सफा गर्ने जिम्मेवारी लिन्छौं भनेर भन्न सक्यौं र जिम्मेवारी पुरा गर्यौं भने पोखरा संधैं सफा रहने छ ।
शहरलाई सफा राख्नको लागि मुख्य रुपमा राम्रो फोहर ब्यवस्थापन हुनु जरुरी छ । फोहर ब्यवस्थापन पछि यातायात पूर्वाधार तथा ब्यवस्थापनले शहर सफा राख्न मुख्य भूमिका खेल्छ । पोखरामा बढ्दो जनसंख्या तथा सवारी साधनको अवस्थालाई मध्यनजर गर्दा ढल ब्यवस्थापन, ट्राफिक ब्यवस्थापन तथा यातायात पूर्वाधारको बिषयमा अहिल्यै देखि नै सोंच्नु जरुरी छ ।
क्यानाडाको क्यालगरी शहर संसारकै सबैभन्दा सफा शहर मानिन्छ । करिब १३ लाख जनसंख्या भएको शहरमा सफा राख्नु सजिलो काम होईन तर, त्यहां शहर सफा राख्न सफा पानीको उपलब्धता, राम्रो ढल ब्यवस्थापन, राम्रो ट्राफिक ब्यवस्थापन, राम्रो फोहर ब्यवस्थापन तथा पुनः प्रयोग ब्यवस्थापन र वायु प्रदुषण नियन्त्रण आदी ब्यवस्थापनलाई मुख्य जोड दिएको पाईन्छ ।
कुनै पनि समस्या समाधान गर्नको लागि त्यो समस्याको कारणहरु पत्ता लगाउनु पर्छ । शहर फोहर हुने समस्या छ भने किन छ भन्ने पत्ता लगाउनुपर्छ । भनिन्छ रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेश हुन्छ । शहर सफा राख्नको लागि हामिले सर्वप्रथम आफ्नो घर आंगनमा फोहर गर्न नदिने उपाय खोज्नुपर्छ जसको लागि आफ्ना परिवारका सदस्यहरुलाई फोहर ब्यवस्थापन गर्ने राम्रो संस्कृतीको बिकास गर्नुपर्छ ।
संसारका शहरहरु के कारणले गर्दा सफा भएका छन ? यो प्रश्नको जवाफ खोज्ने हो भने त्यहांका नागरिकहरुमा एउटा राम्रो संस्कृतीको बिकाश भएको पांउछौं । उनिहरु शहरमा किनमेल गरिसकेपछि प्लाष्टिक, बोत्तल अथवा अन्य कुनै पनि चिजहरु जथाभावी फाल्दैनन् । ति चिजहरु फाल्न डष्टबिन खोज्छन् यदि डष्टबिन फेला पारेनन् भने घरसम्म नै बोकेर ल्यांउछन् ।
घरमा आफ्ना परिवारहरुलाई बच्चाहरुलाई सानैदेखि नै यस्ता संस्कारहरु सिकाउनुपर्छ । बच्चालाई सिकाउने हो भने पहिला आफूले त्यो संस्कार देखाउनुपर्छ । अहिले नेपालमा ठुलाबडाहरुले पनि बाटोमा फोहर फाल्नुलाई सामान्य कुरा मानेर फाल्ने गर्छन् र त्यसको देखासिखी गरेर बच्चाहरुले पनि यसलाई सामान्य मानिरहेका छन् । बच्चाहरुलाइृ जथाभावि फोहर फाल्नु खराब मानिसको चरित्र हो भनेर सिकाउनुपर्छ ।
जापानमा स्कूलदेखि नै बच्चाहरुलाई जिम्मेवार नागरिक हुं भन्ने भावनाको विकास गर्न आफ्नो कक्षाकोठा, ट्वाईलेट सफा गर्न लगाउने प्रचलन छ । उनिहरुलाई आफ्नो कक्षाकोठा, स्कूल सफासुग्घर राख्नुपर्छ भनेर स्कूलबाट नै सिकाईन्छ र गर्न लगाईन्छ । जापानको यस्तो संस्कार सिकाउने प्रचलनले गर्दा संसारको सबैभन्दा बढि जनघनत्व भएको १ करोड ३८ लाख मानिस बसोबास गर्ने टोकियो शहर पनि सफा शहरमा गनिन्छ ।
जापानी लेखक मेरी कोण्डोले भनेका छन्ः सरसफाई गर्नुको उदेश्य सफा राख्नु मात्र नभई उक्त बातावारणको माध्यमले मानिसले जिवनमा खुशि जिवन बिताउनु हो । पोखरा नेपालको मात्र नभई संसारकै एक उत्कृष्ट गन्तब्य पनि भएकोले पर्यटकहरु पोखरामा रमाउन चाहान्छन् । यो शहर प्रकृतिक सुन्दरतको साथसाथै तुलनात्मक रुपमा नेपालको अन्य शहरभन्दा सफा भएकोले पनि पर्यटकहरु यहां घुम्न रमाउंछन् तर, शहरीकरणले प्रदुर्शन पनि संगसंगै ल्याउने भएकोले यस शहरको पनि प्रदुषण रोक्न पहल गरिएन भने पर्यटन ब्यवसायमा ठुलो असर पर्न गई पोखरा लगायत समग्र देशको आर्थिक विकासमा समेत प्रतिकूल असर पर्छ ।
मानिस चेतनशिल प्राणि भएकोले उसलाई सफा चिज मनपर्छ । सफा भनेको खुशिको प्रतिक हो । मानिस सफा चिजबस्तुहरुमा रमाउंछ । कुनै सफा चिज देख्यो भने वाह १ भनेर लोभिन्छ । हाम्रो आफ्नो घर सफा राख्नु भनेको घरमा खुशि निम्त्याउनु हो त्यस्तै टोल सफा राख्यौं भने टोलमा खुशि निम्त्याउनु हो र पोखरा सफा राख्यौं भने समग्र पोख्रेली लगायत घुम्न आउने पर्यटकको अनुहारमा मिठो मुस्कानको साथमा खुशि निम्त्याउनु हो । सफा बातावरणमा मानिस स्वस्थ पनि हुन्छ र सफा, स्वच्छ बातावरण भएमा मानिसले आनन्दको महशुस् गर्ने भएकोले यसले एक प्रकारको ध्यानको पनि काम गर्छ ।
प्रकृतिले अनुपम बरदान दिएको र अत्याधिक सम्भावना भएको पोखरा जस्तो सुन्दर शहरलाई हरदम सुन्दर र सफा राख्नु हाम्रो कर्तब्य हो । आफ्नो घर आंगन, टोल सफा गरेर एक जिम्मेवार नागरिकको कर्तब्य पूरा गरौं । सफाई अभियानकर्ताहरुलाई मुरी मुरी धन्यवाद दिऔं । घर, आंगन, टोल तथा शहर सफा राखौं, एक जिम्मेवार नागरिक बनौं ।