आलु संसारमा उत्पादन हुने चौथो ठुलो खाद्यन्न हो । संसारमा मकै, गहुं र चामलपछि आलुको सबैभन्दा धेरै उत्पादन हुन्छ । सन् २०१४ मा संसारभर ३८ करोड १६ लाख टन आलुको उत्पादन भएको थियो जसमध्ये चिनमा ९ करोड ६० लाख टन, भारतमा ४ करोड ५३ लाख टन, रसियामा ३ करोड २ लाख टन र नेपालमा २६ लाख ९० हजार टन उत्पादन भएको थियो ।

एउटा कांचो आलुमा ७९ प्रतिशत पानी, १७ प्रतिशत कार्वाेहाईड्रेड ( जसमध्ये ८८ प्रतिशत ग्लुकोज पाईन्छ) र २ प्रतिशत प्रोटिन पाईन्छ । १०० ग्राम आलुमा ७७ क्यालोरी शक्ती प्रदान गर्दछ । नेपालीहरुले खानामा चामल र आलुको सर्वाधिक प्रयोग गर्दछन् । आलुमा भन्दा चामलमा बढि प्रोटिन पाईन्छ भने चामलमा भन्दा आलुमा बढि फाईबर पाईन्छ ।

सन् २०११ को डाटा अनुसार संसारभरमा प्रतिब्यक्ति प्रतिबर्ष सरदर ३२.६ किलो आलु खाने गर्छन । डाटा अनुसार बेलारुसमा प्रतिब्यक्ति सबैभन्दा बढि प्रतिबर्ष सरदर १८५.२० किलो आलु खपत गरिएको थियो भने रसियामा १११.५० किलो प्रतिब्यक्ति, क्यानाडामा ७८.४० प्रतिब्यक्ति खपत भएको थियो । नेपालमा यो आंकडा प्रतिब्यक्ति ७५.१० किलो रहेको छ जुन बिश्वको सरदर भन्दा झण्डै दोब्बर रहेको छ ।

पोखराको हेम्जामा नवौं हेम्जा राष्ट्रिय महोत्सव शुरु हुन गईरहेको छ । सन् २००८ मा बिश्व आलु बर्ष मनाईएको थियो । सन् १९९३ बाट २००८ सम्म आईपुग्दा नेपालमा आलुको उत्पादन ३ गुण बढेर लगभग आत्मनिर्भरको अवस्थामा आईपुगेको थियो । तर, अझै पनि नेपालका आलुका बिबिद्य उत्पादनहरु चिप्स लगायतका बिबिद्य बिदेशी खाद्य पदार्थहरुको ठुलो खपत हुने गर्छ र नेपाली उत्पादनहरुको लागि पनि आलुहरु भारत र चिनबाट आयात गर्ने गरिन्छ ।

करिब २ करोड ९० लाख नेपालीहरुले बर्षमा सरदर प्रतिब्यक्ति १ किलो बढि आलु खाएमा पनि २ करोड ९० लाख किलो आलुको आवश्यक्ता पर्छ । त्यसैले आलुको अझै पनि ठुलो सम्भावना देखिन्छ । भविष्यमा नेपालमा कुनै पनि उद्यमीहरुले आलुका बिभिन्न उत्पादनहरु जस्तै चिप्स लगायतका अन्य उत्पादहरु उत्पादन गर्न चाहेमा त्यसको लागि आवश्यक आलुको लागि नेपाली आलुको प्रयोग गर्ने बातावरण निर्माण गर्न सकिएको खण्डमा नेपालको आलुले बिश्व बजार पाउन सक्छ ।

संसारभर आलुका ५०० भन्दा बढि परिकारहरु बन्छन् । संसारभरमा प्रख्यात फ्रेन्च फ्राई, मम देखि लिएर भोड्का पनि बन्छ । पोखरा पर्यटनको हिसाबले बिश्वकै अति उत्तम ठांउ भएकोले हेम्जा जांउ, आलु खांउ भन्ने नारा सहित आन्तरिक तथा बाह्य पर्यटकहरुलाई हेम्जाको आलुले लोभ्याउन सकिए खाना पर्यटन मार्फत पर्यटनको विकास गर्न मद्धत मिल्नेछ ।

अन्तमा, नेपाल कृषि प्रद्यान देश भएपनि अझैपनि ठुलो मात्रमा कृषि उपच सामाग्रिहरु भारत, चिन लगायत अन्य देशहरुमा निर्भर पर्नुपरको छ । आलु एउटा सम्भावना बोकेको खेति भएकोले यसमार्फत भएपनि आयात घटाएर निर्यात बढाई केहि हदसम्म ब्यापर घाटा घटाउन मद्धत हुन सक्छ । युवाहरुलाई ब्यवसायिक कृषि कर्जाको लागि नेपाल राष्ट्र बैंकबाट सहुलियत कृषि कर्जा पनि नेपालका बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्दै आईरहेको सन्दर्भमा आलुको उत्पादन तथा प्रवद्र्धनको लागि आफ्नो आफ्नो ठांउबाट पहल गरौं । नवौं हेम्जा राष्ट्रिय आलु महोत्सवको हार्दिक मंगलमय शुभकामना ।