दिगो एवं संस्थागत विकासको लागि निर्माण गरिने विकासका पुर्वधारहरु निर्माण गर्दा त्यसको असर, चुनौती र संभावनाहरुको वारेमा पहिलानै सोच विचार गर्न जरुरी छ । जस्तो घर खरिद गरिसकेपछि गाडी पार्किङ्गको लागि ठांउ छैन भनेर पछुताउनु भन्दा घर खरिद गर्नु भन्दा पहिला नै सोको बारेमा विचार गरेर ब्यवस्थान गर्न सकेमा पछि समस्या पर्दैन । त्यसैगरि नेपालमा पर्यटनको विकास गर्नको लागि अहिलेवाटै आवश्यक न्यूनतम पूर्वाधारहरुको विकास क्रमिक रुपमा गर्दै गएमा नेपालमा पर्यटनको विकास तथा प्रर्वद्धनमा ठुलो भूमिका खेल्न सक्दछ ।
संसारभरका पर्यटकहरु नेपाल आउना साथ शुरुमा पाईला टेक्ने हालसम्म नेपालको एक मात्र अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलको अवस्था हेर्दा साथ पर्यटकहरुको नेपालप्रति हेर्ने दृष्टिकोणमा सकरात्मक वा नकरात्मक कस्तो असर पर्ला भनेर शायद कुनै वहस गर्न आवश्यक नपर्ला । विमानस्थलको भौतिक पूर्वाधारको साथसाथै लगेजहरु प्राप्त गर्नुमा ढिलाईको साथसाथै अधिकांश कार्यहरु ढिलाई हुनुको कारण अहिलेको मुख्य समस्या रहेको छ । नेपालको वर्तमान अवस्थामा अहिलेनै संसारका उत्कृष्ट ठहरिएका सिंगापूर, टोकियो, लण्डन, फ्रयाङक्फ्रुट, दोहाको जस्तो उत्कृष्ट विमानस्थल त बनाउन नसकिएला तर संसारले स्विकार्न सक्ने औसतको सुरक्षा एवं प्रविधीयुक्त विमानस्थल निर्माण गर्न पहिलो आवश्यकता देखिन्छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएपछि जो कोहि पर्यटकहरुको नजर यहांका सवारी साधन तथा काठमाण्डौंको अव्यवस्थित सडक तथा ट्राफिक ब्यवस्थापनमा नै पर्दछ । तत्कालिन अवस्थामा नेपालले अमेरिका, चिन, लण्डन,जापान तथा अष्ट्रेलियाको जस्तो सडक तथा समुन्द्रहरुमा पनि भब्य पुलहरुको निर्माण गरे जस्तै पूर्वाधार निर्माण गर्न त बजेटले नभ्याउन सक्छ । त्यसैगरि अमेरिकाको बोस्टोनको बिग डिग जस्तो महंगो हाईवे प्रोजेक्ट निर्माण अहिल्यैनै सम्भव नहुन सक्छ । तर यहाँको सवारी साधनको चाप अनुसार उचित ट्रफिक ब्यवस्थापनको लागि तत्कालै पहल शुरु गर्न सकेमा भविश्यमा पर्यटनको विकास तथा प्रर्बद्धन गर्नमा ठुलै टेवा मिल्न सक्दछ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट होटलसम्म पुग्ने पहिलो गन्तब्यमा नै पर्यटकहरुले बाटोमा देख्ने अव्यवस्थित सडक तथा ट्राफिक व्यवस्थापनको दृश्यले पर्यटकहरुलाई नकरात्मक असर नपुर्याओस् भन्ने कुरामा हामीहरु आजैवाट सजग रहन जरुरी छ । फूटपाथको ब्यवस्थापन पहिलो प्राथमिकतामा राख्नुपर्दछ । अन्तराष्ट्रिय विमानस्थल वरपर एउटा निश्चित क्षेत्रभित्र चल्ने सवारी साधनहरु तथा सडकको वरपर सञ्चालनमा रहेका ब्यवसायहरुले अन्तराष्ट्रिय मापदण्ड पालना गरेको हुनुपर्दछ । यद्यपी नेपालका होटलहरु त अन्तराष्ट्रिय स्तरको सेवादिनको लागि सक्षम नै देखिन्छन् ।
होटलमा पुगिसकेपछि पर्यटकहरुलाई उनिहरुको अध्ययन अवलोकन तथा भ्रमणको प्रमुख उद्देश्य पुरा गर्न तथा बढि भन्दा बढि उपयोगी र रमणीय बनाउनको लागि घुम्न जाने स्थानहरुको बिभिन्न विकल्पहरु दिन सक्नुपर्दछ । जसको लागि नेपालका विभिन्न संभावित पर्यटकीय ठांउहरुलाई प्रकृतीले दिएको विशेषताहरुको आधारमा प्रवद्र्धन तथा विकास गर्नेतर्फ ध्यान दिनु पर्दछ । जस्तैः धार्मिक पर्यटन, शैक्षिक पर्यटन, वाईल्ड लाईफ पर्यर्टन, होम स्टे, खेलकुद पर्यटन आदी ।
भारतले भारतीय पर्यटन वोर्डको कार्यक्रम अन्तर्गत नैनिताल, सिम्ला, मनाली, दार्जिलिङ्ग लगायत सैयौं पहाडी क्षेत्रहरुमा पर्यटकहरु आकर्षित गर्नको लागि “अतिथी देव भव” नारा सहित विभिन्न पूर्वाधारहरु विकास गर्ने कार्य गरिराखेको छ । केरेला राज्यमा बिभिन्न वाटरफल्सहरुलाई पर्यटकहरु आकर्षित गर्नेतर्फ ध्यान दिएको छ भने त्यहंको संस्कृतीहरुलाई प्रवद्र्धन गरि पर्यटकहरुको ध्यान खिंच्न सफल भएको छ । त्यस्तै गरि भूटानले थिम्पूलाई पर्यटक आकर्षक गर्ने शहरको रुपमा विकासित गरेको छ जहां बुद्धका प्रचिन मन्दिरहरु रहेका छन् ।
नेपालको पहाडी क्षेत्रमा पर्यटन प्रर्वद्धनको लागि नेपालले भारतबाट सिकेर पहाडी क्षेत्रहरुलाई थप पूर्वाधार विकासका कार्यक्रमहरु गरि थप विकसित गर्न सकिन्छ । वाईल्ड लाईफमा रमाउने पर्यटकहरुको लागि दक्षिण अफ्रिकी देशहरु जस्तै तान्जानिया, केन्या, जाम्बिया, दक्षिण अफ्रिका देशहरुको वाईल्ड लाईफ कार्यक्रमहरु तथा पूर्वाधारहरुबाट सिकेर नेपालको बर्दिया तथा सौराहालाई थप विकसित तथा पर्यटनको लागि राम्रो प्रबर्वद्धन गर्न सकिन्छ ।
नेपाल सगरमाथा तथा बुद्धको देश हो तर यसबाट हामिले जति फाईदा लिन सकिन्थ्यो त्यति लिन सकिएको अवस्था छैन् । श्रीलंकापनि नेपाल जस्तै आन्तरीक द्धन्द्धबाट सामान्य अवस्थामा फर्किएको देश हो । वर्तमान अवस्थामा नेपालमा बार्षिक सरदर ८ लाख भन्दा बढि पर्यटकहरुको आगमन हुने गरेको छ भने श्रीलंकामा करिब १८ लाखपर्यटन आउने गर्दछन् ।
श्रीलंकाको पर्यटन बोर्डले मुख्यतया श्रीलंका १० मुख्य कारणले पर्यटनको लागि घुम्न योग्य छ भनिप्रचार गरेको छ । तिहुन् १) प्राकृति बिविधता २) सहयोगी तथा बिभिन्न समुदायका मानिसहरु ३)प्राचिन स्थलहरु ४) चाडपर्वहरुको विविधता ५)आयुर्वेद तथा स्पा ६)वाईल्ड लाईफ ७) समुन्द्रिक यात्रा ८) होटल ९)खानापीनको गुणस्तर १०) बजार व्यवस्थापन (किनमेल) । श्रीलंकाले प्रवद्र्धन गरिराखेको उल्लेखित मुख्य १० बिशेषताहरुमध्ये समुन्द्रिक यात्रा मात्र नेपालमा सम्भव छैन तर त्यो बाहेक तुलनात्मक रुपमा श्रीलंका भन्दा उल्लेखनीय रुपमा बढि उपलब्धता तथा सम्भवना रहेको छ ।
भगवान बुद्धको सबैभन्दा ठुलो मूर्ति चिनमा रहेको छ जुन ४२० फिट अग्लो रहेको छ । जसलार्ई अवलोकन गर्नको लागि बार्षिक लाखौं आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । भगवान बुद्धको जन्म भएको देशमा लुम्बिनी तथा अन्य क्षेत्रमा समेत भगवान बुद्धको प्रचार प्रसार गर्न सकिएको खण्डमा पर्यटकहरुलाई अझबढि आकर्षित गर्न सकिन्छ । नेपालको साँगामा रहेको १४३ फिट संसारकै अग्लो महादेबको मन्दिर पनि प्रर्याप्त प्रचार प्रसार तथा अन्य भौतिक पूर्वाधारहरुको विकास गर्न नसक्दा उल्लेख्य रुपमा पर्यटकहरु आकर्षित गर्न सकिएको छैन ।
श्रीलंकाले केहिबर्ष पहिला पर्यटन प्रवद्र्धन गर्नको लागि राम र रावणको युद्धका घटनाहरु र युद्ध स्थलको बारेमा मिडियाहरु मार्फत विभिन्न जानकारीहरु गराउने अभियान चलाएको थियो । हामिले पनि गौतम बुद्ध, पशुपतिनाथ, मुक्तिनाथ, सगरमाथा लगाएत अन्य पर्यटकीय तथा धार्मिक स्थलहरुको बिषयमा संसारलाई सुसूचित गर्ने अभियानलाई महत्वका साथ अगाडी बढाउन सकियो भने नेपालमा पर्यटन प्रवद्र्धन गर्न तथा पर्यटन क्षेत्रले राम्रो गतिलिन सक्दछ । नेपाल प्याराग्लाईडिङ्गमा संसारकै उत्कृष्ट गन्तब्यमा मानिन्छ । अग्ला हिमालहरुबाट केबलकार लगायत बिभिन्न स्थानहरुमा बन्जिजम्प, स्काई ड्राईभ जस्ता खेलहरु खेल्न सक्ने स्थानहरुको पनि विकास गर्न सकिन्छ ।
संसारका विभिन्न देशहरुले कृतिम प्रकृती सृजना गरेर पर्यटकहरुलाई आकर्षित गरिराखेका छन् तर हामिलाई त्यो अवश्यकता छैन् । देशमा भएको सुन्दर प्रकिृती स्रोत, विद्यमान बिविध संस्कृति तथा पौराणिक ईतिहाँसलाई मात्र राम्रोसंग संरक्षण र सोको प्रवद्र्धन गर्न सकियो भने नेपालमा पर्यटन क्षेत्रले राम्रो गति लिन सक्नुको साथै समग्र राष्ट्रको आर्थिक विकासमा समेत यो क्षेत्रले राम्रो योगदान गर्न सक्दछ । बिबिसी होलिडेले नेपाललाई मर्नुभन्दा पहिले घुम्नुपर्ने देशमा सुचिकृत हाम्रो सुन्दर देशमा संसारभरका पर्यटकहरुलाई कम्तिमा एक पटक घुम्न आउने वातावरण सृजना गरेर पाहुनामय बनाऔं । एकपटक मात्रहोईन पटक पटक घुम्ने बातावरण बनाऔं । जयपर्यटन ।।