हट्ने होईन डटी लड्ने नेपालीको बानी हुन्छ, कहिल्यै नझुक्ने शिर उभेको स्वाभिमानी नेपाली हुन्छ । राष्ट्रियताले भरिएको यो गितले धेरै सन्देशहरु दिन खोजेको छ । बास्तवमा भन्ने हो भने संसारका जति पनि सफल ब्यक्तिहरु छन् तिनिहरु आफ्नो लक्ष्य तथा उदेश्य प्राप्तिको लागि जस्तो सुकै समस्यासंग पनि नहटिकन डटेर लडेकोले सफल भएको पाईन्छ चाहे ति ब्यापारी हुन, चाहे राजनिति ब्यक्तिहरु हुन, चाहे अन्य कुनै ब्यक्तिहरु नै हुन् आफ्नो लक्ष्य तथा उदेश्यसंग नहटिकन डटेर लड्ने ब्यक्तिहरु ने आज सफल ब्यक्तिहरुको सूचिमा छन् ।

मानिसहरु आफ्नो जिवनबाट राम्रा नराम्रा धेरै कुराहरु सिकेका हुन्छन् तर, नराम्रा र नकरात्मक कुराहरु चांडै सिक्ने गर्छन । मानिसहरुलाई थाहा छ कि, परिश्रमको फल मिठो हुन्छ, असफल भयो भने हार मान्नु हुन्न भनेर । तै पनि समाजमा प्रशस्त ब्यक्तिहरु भेटिन्छन जसले १–२ पटक परिक्षामा फेल भएर स्कूल, कलेज छोडेको, केहि समय ब्यापारमा कमि आएर ब्यापार छाडेको वा हरेश खाएको वा डिप्रेशनमा गएका, केहि समय जागिरको खोजिमा भौतारिएर जागिर नपाएको कारणले दिक्कभएका, एकपटक कुनै ब्यापार घाटामा गयो भनेर ब्यापार भन्ने बेत्तिकै तर्सिने आदी ।

सन् १९४३ मा अमेरिकामा जन्मेका डब्लु. मिट्चेल २८ बर्षको उमेर हुंदा राजमार्गमा मोटरसाईकल ट्रकसंग ठोक्किएर गम्भिर दुर्घटना परे । उसको मोटरसाईकलको पेट्रोल ट्याङ्की चुहिएर आगलागी भई शरिरको ६५ प्रतिशत भाग पहिचान नहुने गरि जल्यो । जलेका शरिरभरिका कैंयौं छालाहरुको सर्जरी पछि उनि बांच्न त सफल भए तर शरिरका हातका सम्पूर्ण औंलाहरु गुमाउनुपर्यो ।

दुर्घटनाको ६ महिनापछि मिट्चेल एउटा नयां जिवन लिएर घर फर्किए । फर्किएपछि उनले जिवनलाई नयां तरिकाबाट शुरु गर्ने निर्णयमा पुगे र साथीसंग मिलेर ब्यापार शुरु गरे । ब्यापारमा उनले राम्रो सफलता प्राप्त गरे । तर, उनि यतिकैमा चुप लागेर बसेनन् । आफ्नो खुबि राजनितिमा देखाउने उदेश्य राखेर राजनितिमा होमिए र सन् १९७७ मा ३३ बर्षको उमेरमा आफ्नो शहर क्रेस्टेड बुटको मेयर समेत भए । हातका कुनै औंला नभएको भएता पनि उनको दृढ ईच्छा शक्तिले गर्दा पाईलट बन्न समेत सफल भए ।

मिट्चेलको जिन्दगी एकपटक फेरी राम्रोसंग बितिराखेको थियो यतिकैमा, उनले फेरी दोश्रो भयानक दुर्घटना बेहोर्नु पर्यो । उनी आफैले उडाई राखेको एउटा सानो जहाज ल्याण्ड गर्ने बेलामा दुर्घटना भयो । उनका ढाडका करंगहरु १२ ठांउमा भांचिए र कहिल्यै पनि हिंड्डुल गर्न नसक्ने गरि प्यारालाईसिस भए र ह्विल चेयरको साहारा लिनुपर्ने भए ।

मिट्चेल दोश्रो दुर्घटना पछि पनि त्यत्तिकै चुप बसेनन् । निको भएपछि उनि संसारभरका ब्यक्तिहरुलाई जिन्दगीको बारेमा सिकांउदै हिंडे र अहिले उनि संसारकै एक उत्कृष्ट मोटिवेशन स्पिकरको रुपमा आफूलाई चिनाउन सफल भएका छन् । प्यारालाईसिस भएर पनि अहिले उनि साहासिक खेल राफ्टिङ, स्काई ड्राईभ समेत गर्छन् । यति मात्रै होईन उनले बिभिन्न पुस्तकहरु समेत लेखेका छन् । उनि भन्छन् दुर्घटना भन्दा पहिला मैले १० हजार चिजहरु गर्न सक्थें होला, अहिले दुर्घटना भएपछि ९ हजार चिजहरु गर्न सक्दिनहोला । तर, अहिले मैले गर्न नसक्ने ९ हजार चिजहरुमा ध्यान दिनुभन्दा गर्न सक्ने १ हजार चिजहरुमा ध्यान दिएको छु ।

मिट्चेलले चाहेको भए मैले कोशिस गरेको हो तर, भाग्ले साथ नदिएकोले मेरो के लाग्छ भनेर बस्न सक्थे । र समाजले पनि उनलाई सजिलै सहानुभूति दिन्थ्यो । उनले चाहेको भए, उनि दुर्घटना पर्दा बिमाबाट आएको रकम ५ लाख डलर बैंकमा राखेर ब्याजले गुजारा चलाउन सक्थे होला वा त्यतिले गुजारा नचल्ने अवस्था आएको खण्डमा मागेर गुजारा चलाउन सक्थे होला वा ब्यापारमा करोडौं कमाएं भनेर मख्ख परेर बस्थे होला वा मेयर सम्म भईयो अब यस्तो अपांग भएपछि अवकाश जिन्दगी बिताउंछु भनेर पनि निर्णय लिन सक्थे होला तर,उनले आफूलाई सधैं नै सक्रिय जिन्दगी बिताउने निर्णय गरे र भनें, मेरो जिन्दगी यतिको लागि मात्रै होईन, जिन्दगीमा एउटा बाटो बन्द हुन्छ त अर्काे बाटो पत्ता लगाउनुपर्छ र प्यारालाईसिस् भएपछि पनि सक्रिय हुने क्षेत्र मोटिवेशन स्पिकर बन्ने निर्णय गरे ।

हट्ने होईन डटि लड्ने उनको बानीले गर्दा आज उनि अपांग शरिर भएर पनि सपांग ब्यक्तिले गर्न नसकेका कार्यहरु गरेर संसारभर शिर ठाडो गरेर लाखौं ब्यक्तिहरुलाई मोटिवेशन दिंदै आएका छन् । मेट्चेलले भने झैं जुन कुरा हामिले गर्न सक्दैनौं त्यसमा चिन्तित गरेर बस्नुभन्दा सम्भव भएका क्षेत्रहरुमा कटिबद्ध भएर लाग्नुपर्छ ।

सन् १९९१ मा बनेको बलिउड फिल्म हण्ड्रेड डेजमा एउटा गित छ “गब्बर सिङ ये केहेकर गया, जो डरगया वो मरगया” यो गितको शाब्दिक अर्थ पनि हट्ने होईन डटी लड्नेसंग लगभग मिल्न जान्छ । जो डरांउछ उ मर्छ भन्नुको मतलब डराउने मानिसले प्रगति गर्दैन भनेको हो ।

मानिसको जिवनको अस्तित्व त्यतिबेला सम्म मात्र नै छ जबसम्म उ डटेर लड्छ त्यहि भएर हामि मानिसलाई संसारको सर्वश्रेष्ठ प्राणी मानिएको छ । समस्यासंग डराएर भाग्ने मानिसले आफूलाई सर्वश्रेष्ठ प्राणी ठान्नू ठुलो भूल हो वा जिंउदो लाश जस्तो हो । यहां डर भन्नाले समस्यासंग डराउने भन्ने बुझ्नुपर्छ । बिशेष गरी मानिसलाई असफल हुन्छु कि भन्ने डर र एकपटक भोगेको असफलताले निम्त्याएको त्राश र आफ्नो क्षमता माथिको अबिश्वास आदिले गर्दा कुनै पनि कार्यमा पछि हट्न खोज्दछ ।

माउन्टेन ड्युको बिज्ञापनमा सलमान खानले भन्छन् “डरके आगे जित है” अर्थात सफलता समस्या पछाडी छ । समस्यालाई पार गर्न सकिएन भने सफलता हांसिल गर्न सकिंदैन । भगवानले यो संसारको सृष्टि यस्तो तरिकाले गरिदिनु कि, हामिले राम्रा राम्रा कुराहरु प्राप्त गर्नको लागि खोज्नुपर्छ, तपस्यागर्नुपर्छ त्यसैले नै सुन, चांदी, हिरा, मोति जस्ता अमूल्य बस्तुहरु जहांतहिं पांईदैन । यिनिहरुलाई खोज्नुपर्छ, शुद्धिकरण गर्नुपर्छ र यसको लागि धेरै मेहनत गर्नुपर्छ । भगवानले मानिसलाई सर्वश्रष्ठ प्राणि त बनाईदिए तर आफू सर्वश्रेष्ठ हुने नहुने निर्णय गर्नको लागि मानिस आफैलाई नै छाडिदिए र भनिदिए कि, जुन मानिस समस्यासंग डटेर लड्छ त्यो नै सर्वश्रेष्ठ हुन्छ, जिवनमा सफलता हांसिल गर्छ र आफ्नो जिन्दगी सार्थक बनाउंछ ।

जसरी अमला खांदा शुरु शुरुमा अमिलो हुन्छ, र बिस्तारै चुस्दै गएपछि त्यहि अमिलो अमला पनि पनि गुलियो हुंदै जान्छ, त्यसरी नै मानिसलाई शुरुमा कुनै समस्यासंग लड्नुपर्दा अप्ठ्यारो वा असहज लागेता पनि पछि त्यहि असहज परिस्थिती पनि उसलाई सहज लाग्न थाल्छ । पहिला त्यहि मन नलाग्ने कार्य पनि राम्रो लाग्न थाल्दछ । समस्या भनेको अमला जस्तै हो । अमला अमिलो हुन्छ भनेर खान मन नगर्नेहरु त्यसको गुलियोको स्वाद चाख्नबाट चुक्छन् त्यसैगरि समस्यासंग डराएर भाग्नेहरु समस्यासंग जुघेर प्राप्त हुने सफलताको स्वाद चाख्नबाट चुक्छन्् ।

सन् २००१ मा नायक निखिल उप्रेतीको पहिलो चलचित्र पिंजडा रिलिज भएको थियो । निखिल त्यस चलचित्रमा सहनायकको रुपमा आएका थिए । तर उक्त फिल्म रिलिज भएपछि उनि एकाएक चर्चित भए । उनले चलचित्रमा ७ तल्ला घरबाट हाम्फाली एउटा साहासिक, निडर र आशालाग्दा एक्शन नायकको रुपमा आफूलाई परिचय गरेको कारणले उनि चलचित्रका मुख्य नायक सुरेश मरहठ्ठा (हाल नाम बदलेर रेश मरहठ्ठा भएका ) भन्दा चर्चित भए र अहिले उनि नेपाली चलचित्र क्षेत्रका सुपरस्टार भएका छन् । उनलाई सुपरस्टार बनाउनको लागि उनको हिम्मत र साहासले ठुलो भूमिका खेलेको थियो । उनले त्यति बेला त्यो काम गरेर देखाए, जुन बेला अन्य नायकहरुले त्यो गर्ने हिम्मत गर्थेनन् । त्यतिबेलाा शायद निखिलले बुझेका थिए कि, हट्ने होईन, डटि लड्नुपर्छ ।

हट्ने होईन, डटि लड्ने नेपालीको बानी हुन्छ भन्ने गितले भने झै हामि नेपालीहरु बिभिन्न समस्याहरुसंग डटेर लड्ने बानी बसाल्यौं भने हाम्रो प्रगति पनि हुन्छ र साथै यस राष्ट्रिय गितको पनि सम्मान हुन्छ । डटेर समस्याको सामना गरौं, जहां समस्या छ, त्यहां समाधान पनि छ र अवसर पनि छ । हट्ने होईन डटी लड्ने नेपालीको बानी हुन्छ । सफलता प्राप्त गर्नको लागि डटेर लडौं । डटेर लडौं ।।