अब्राहम लिंकनले भनेका थिए ः तिमिले आजको दिन कटाएर भोलीको जिम्मेवारीबाट मुक्त हुन सक्दैनौं । लिंकनले मानिसले आफ्नो जिम्मेवारी जसरी पनि गर्नुपर्छ यदि आज पूरा गर्नुपर्ने जिम्मेवारी कुनै बिशेष कारणवश पूरा गर्न सकिएन भने भोलि त्यसलाई पूरा गर्नुपर्छ र उ यसबाट पन्छिन पांउदैन भनेर मानिसको जिवनमा जिम्मेवारी वहन गर्नु एउटा महत्वपूर्ण काम भएको कुरा ब्यक्त गरेका छन् । मानिसले जिवनको बिभिन्न चरणहरु बिभिन्न जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ र जसले ति जिम्मेवारीहरु सफलतापूर्वक पूरा गर्न सफल हुन्छन् ति मानिसहरु नै सफल मानिसहरु बन्छन् ।
एकजना राजाको सन्तान नभएकोले परामर्शको लागि गुरुकहां जान्छन् । गुरुले एकजना बालकको टाउको काटेर मन्दिरमा भोग दियोभने ग्रहदशा शान्ति भएर बच्चा हुने बताएपछि राजाले भोगको लागि बच्चा दिनेलाई धेरै धन सम्पत्ति दिने घोषणा गर्छन् । एकजना गरिब मानिसको धेरै बच्चाहरु थिए । तिनिहरु मध्ये एउटा बच्चा घरको केहि पनि काम नगरी भगवानको ध्यान मात्र गरिराख्थ्यो । गरिब मानिसले अरु सबै बच्चाहरुले काम गर्दा पनि खान लगाउन धौ धौ परिरहेकोले त्यहि काम नगर्ने बच्चा राजालाई सुम्पिन पाए परिवारलाई राम्रो हुने ठान्छ र राजालाई बुझाउंछ । राजाले बच्चालाई भोग दिनुभन्दा अघि उसको अन्तिम ईच्छा सोध्छ । बच्चाले आफूलाई ४ वटा काठको किल्ला र एउटा हतियार ल्याईदिन अनुरोध गर्छ ।
बच्चाको ईच्छा अनुसार किल्ला र हतियार ल्याईदिएपछि बच्चाले उक्त किल्लाहरु जमिनमा गाड्छ र पहिलो किल्लालाई तरबारले काटिदिन्छ । त्यसपछि दोश्रो किल्ला पनि काटिदिन्छ र तेश्रो पनि काटिदिएपछि चौंथो किल्लाको अगाडी प्रार्थना गरेर ढोग्छ । राजाले ३ किल्लाहरु काटेको र चौंथो किल्लालाई नकाटि प्रार्थना गरेको कारणबारे बच्चालाई सोध्दा बच्चाले जवाफ दिन्छ ः महाराज, यि चारै किल्लाहरु मेरा रक्षक कवचहरु हुन् पहिलो किल्ला मेरो पिता । एउटा पिताको हैसियतले उहांले मलाई जुनसुकै परिस्थितीमा पनि मलाई बचाउने प्रयास गनुपथ्र्याे तर, उहां आफैले मलाई बलि चढाउन पठाईदिनुभयो त्यसैले त्यो रक्षा कवचलाई काटिदिएं । दोश्रो किल्ला थियो मेरा ईष्टमित्र तथा साथिभाईहरु । उनिहरुले मेरो पितालाई सम्झाएर, बुझाएर कुनै पनि हालतमा मलाई बलि चढाउन पठाउनबाट रोक्नुपर्ने थियो तर, उनिहरुले प्रयास गरेनन् त्यसैले दोश्रो किल्ला पनि काटिदिएं ।
तेश्रो किल्ला तपांई हो महाराज । प्रजाहरुको सुरक्षा गर्नु एउटा राजाको कर्तब्य हुन्छ तर, तपांई आफैले एउटा बालकलाई मार्न तम्सनुभयो त्यसैले तेश्रो किल्ला पनि काटिदिएं । यो चौंथो किल्ला चांहि भगवान हो, अब मैले आफ्नो सम्पूर्ण आशा, भरोसा भगवान प्रति नै गरेको छु यदि भगवानले चाहानुभयो भने मलाई बचाउनुहोला । यदि म बांचे भने भगवान म प्रति प्रसन्न हुनुहुन्छ भन्ने सोंचुला र यदि बांचिन भने मरेपछि भगवानलाई प्रसन्न बनाउनको लागि असल कार्यहरुमा आफूलाई समर्पित गरुला । बच्चाको यस्तो कुरा सुनेपछि राजालाई आफूले गर्न लागेको कार्यप्रति लज्जाबोध हुन्छ र उक्त बालकलाई अंगालो हालेर माफि माग्छ । आफूले सन्तान प्राप्तिको लागि जनताको सन्तानको ज्यान लिन तयार भएको राजाले त्यहि बालकलाई नै अपनाएर राजकुमार बनाउंछ ।
समय र परिस्थिती अनुसार मानिसको जिवनमा धेरै प्रकारका जिम्मेवारीहरु आंउदा उनले एउटा जिम्मेवारी नभाउने क्रममा अर्काे जिम्मेवारीलाई ध्यान दिन नसकेको वा ध्यान नदिएको हुनसक्छ । कुनै पनि जिम्मेवारी सानो नहुने भएकोले उसले प्रत्येक जिम्मेवारीलाई उत्तिकै प्राथमिकता दिएर गर्नुपर्छ जस्तैः कार्यालयको जिम्मेवारी राम्रोसंग निभायो भनेर उ पारिवारिक जिम्मेवारी पूरा गर्न पन्छिन पांउदैन । अधिकांश मानिसहरुले पेशागत जिम्मेवारी र पारिवारिक जिम्मेवारी बिचको सन्तुलन मिलाउन नसक्दा समस्या भोगिरहेको पांउछौं ।
जब जिम्मेवारी पूरा गर्ने मानिसले पदिय शक्तिको बढि प्रयोग गर्छन भने त्यहां समस्या आंउछ । माथिको कथामा पनि राजाले आफ्नो पदिय शक्तिको दुरुपयोग गरेर बच्चको बलिदान दिन लागेका थिए । राजनिती वा कुनै पनि संस्थामा पदिय शक्तिको आडमा ठुला मानिसहरुले जिम्मेवारी पूरा नगर्दा यसको असर तल्लो तहसम्म पुग्न गई समग्र देश तथा संस्थाको प्रगतिलाई नै असर परिरहेको देखिन्छ । स्वार्थ हावि भएमा पनि जिम्मेवारी वहन गर्न बाद्या तथा कठिनाईहरु आंउछन् । पदिय शक्ति र स्वार्थलाई माथि राखेर कार्य गरेमा मात्र सहि तरिकाले जिम्मेवारी पूरा भएर राम्रो नतिजा हांसिल हुन सक्छ ।
एउटा भनाई छ ः बन्दुकबाट छुटेको गोली र राजाको मुखबाट निस्केको गोली खेर जांदैन । यो भनाईले मानिसले आफ्नो बोलेको पुर्याउनुपर्छ, आफुले गर्नुपर्ने काम जुनसुकै अवस्थामा पनि गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ ।
जसरी बन्दुकबाट छुटेको गालीले जुनसुकै बेला पनि निशाना लगाएको ठांउमा गएर प्रहार गर्छ, त्यसरी नै मानिसले उसको पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गर्नुपर्छ, राजाको बोली भन्ने कुराले जुन ब्यक्तिले आफ्नो बचन पूरा गर्छ, त्यो मानिसलाई राजाको दर्जा दिईएको हो । आफूले प्रतिबद्धता जनाएको कुरा पुर्याउनु, काम फत्ते गर्ने मानिस राजा सरह हुन्छ अर्थात, यदि राजा बन्ने हो भने सर्वप्रथम जिम्मेवार बन्नुपर्छ । मानिस जति ठुलो पदमा हुन्छ, उसको जिम्मेवारी पनि त्यति नै ठुलो हुन्छ त्यसैले ठुलो बन्नु छ भने सर्वप्रथम एउटा जिम्मेवार मानिस बन्नुपर्छ ।
ठुलो, सानो सबै मानिसले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । जिन्दगीको अर्काे नाम मै जिम्मेवारी हो । मानिसले जिवनमा होशियार पनि बन्नुपर्छ तर होशियार भन्दा बढि जिम्मेवार बन्नुपर्छ । जिम्मेवारी पूरा गर्नको लागि आफैले आफैलाई खबरदार गरिरहनुपर्छ ताकि जुनसुकै परिस्थितीमा पनि जिम्मेवारीबाट पछि नहट्ने दृढ संकल्प र बिश्वास लिनुपर्छ । आफैलाई खबरदार र होशियार बनाएर मानिस जिम्मेवार बन्न सक्छ र यस्तो जिम्मेवार मानिसले अरुको पनि बिश्वास आर्जन गर्न सफल हुन्छ । सफलताले जिम्मेवारीलाई पछ्याईरहेको हुन्छ । जिम्मेवारी पूरा गर्ने मानिस सफल हुन्छ । सफल मानिस बन्नु छ भने एउटा जिम्मेवार मानिस बन्नुपर्छ ।