यो संसारमा भोकै बस्नुपर्ने मानिसहरुदेखी अर्बपति खर्बपति जस्ता सबै प्रकारका मानिसहरु छन् । एउटै शहर, गांउ, टोल, कम्पनीमा पनि कुनै एक ब्यक्तिले महिनामा लाखौ कमाईरहेका हुन्छन् भने कुनैले हजार कमाउन पनि धौ धौ परिरहेको हुन्छ । यसरी एउटै बातावरण, एउटै परिवेश, एउटै स्थानमा पनि मानिसहरु बिचको सफलतामा फरक आउनुको मुख्य कारण उनिहरुको सोंचमा रहेको भिन्नताले गर्दा हो । ठुलो सोंच्ने ब्यक्तिको सफलता पनि ठुलै हुन्छ भने सानो सोंच्ने ब्यक्तिको सफलता पनि उसको सोंच अनुसारको सानै हुन्छ ।
एकजना एकदमै गरिब केटा जागिरको खोजिमा शहरमा यता उता भौंतारिंदै थियो । बाटोमा हिंड्दा हिंड्दै थकाई मार्न एउटा प्रतिक्षालयमा बस्यो र भोकाएकोले झोलाबाट टिफिन बक्स निकाल्यो । टिफिनमा भएको एटा मात्रै रोटी भएपनि उक्त रोटी निकालेर खान थाल्यो । उसको खाने तरिका भने निक्के गज्जबको थियो । उसले रोटी टुक्रा पाथ्र्याे र टिफिनभित्र लैजान्थ्यो र रोटीसंग केही मिलाएर खाएको जस्तो गरेर खान्थ्यो जबकि उसंग रोटी बाहेक अन्य केहि कुरा थिएन । उसको क्रियाकलाप देखेर प्रतिक्षालयका अन्य ब्यक्तिहरु चकित परे र एकजना ब्यक्तिले त्यसो गरेर खानुको कारण सोधे । केटोले जवाफ दियो ः सर, म यो कल्पना गर्छु कि, यो टिफिनभित्र अचार छ र यो रोटीसंग अचार राखेर खांदैछु । ब्यक्तिले फेरी सोध्यो ः तिमिलाई अचारको स्वाद आईरहेको छ त ? केटोले जवाफ दियो ः अं । मलाई अचारको स्वाद आईरहेको छ । ब्यक्तिले भन्यो ः हेर भाई तिमिलाई कल्पना नै गर्नुछ भने अचार मात्र किन? स्वादिष्ट मासु, मटर पनीर संग खाएको कल्पना गर न । कल्पना गर्नु नै छ भने किन सानो चिजको कल्पना गर्नु ? ठुलो चिजको कल्पना गर ।
माथिको गरिब केटोको कथाले अधिकांश मानिसहरुको प्रतिनिधित्व गर्छ । बिभिन्न बातावरणिय प्रभावले गर्दा पनि हामिहरु ठुलो सोंच्न सक्दैनौं । सामाजिक मूल्य मान्यता तथा बिभिन्न बातावरणिय तत्वहरुले हामिलाई ठुलो सोंच्नको लागि रोकिरहेको छ र यसको शुरुवात परिवारबाट पनि शुरु हुन्छ किनभने आमाबुवाले आफ्ना छोराछोरीहरुलाई अरुको छोराछोरीहरु भन्दा कमजोर ठान्छन् ।
छिमेकी तथा साथिभाईको छोराछोरीले आफ्ना छोराछोरी भन्दा बढि अंक ल्यायो भने आफ्ना छोराछोरीहरुलाई नालायक भन्ने संस्कारबाट उनिहरुको मनोवल गिराउने कार्य भईरहेको हुन्छ । छोराछोरीहरुलाई नालायकको दर्जा दिनुभन्दा उनिहरुलाई हौसला प्रदान गरी अझ राम्रो गर्न, राम्रो र ठुलो सोंच्न प्रोत्साहन गर्नु जरुरी हुन्छ ।
हाम्रो सोंच सेतो छाला भएको ब्यक्ति देख्ने बेत्तिकै हामिभन्दा बढि जान्ने, सुन्ने जस्तो लाग्छ । अलि अंग्रेजी बोल्ने ब्यक्तिहरु धेरै पढेलेखेका र स्मार्ट लाग्छन् र यहि सोंचले गर्दा पनि हामिले आफूलाई अन्यभन्दा कमजोर ठान्छौं र ठुलो ठुलो उपलब्धि हांसिल गर्ने सोंच्न सक्दैनौं । नेपालीमा एउटा भनाई छ ः सूर्यलाई ताकेर झटारो हान्यो भने अग्लो रुख त पक्कै भेटिन्छ । ठुलो सोंच अथवा लक्ष्य बनायौं भने साना तथा मझौला लक्ष्यहरु त सजिलै भेटिन्छ तर सानो लक्ष्य बनायौं भने ठुलो लक्ष्य प्राप्त गर्न असम्भव हुन्छ । हामिले आफूलाई अरुभन्दा कमजोर ठान्नु हुंदैन । आफूलाई पनि सक्षम ठानि आत्मबिश्वास कायम गरी ठुलो सोंच्नु पर्छ ।
१९६२ मा क्यानाडामा जन्मेका जिम केरी सानोमा हुंदा गरिबीको कारणले गर्दा स्कूलको फि तिर्नको लागि १५ बर्षको उमेरमा ट्वाईलेट सफा गर्ने काम गरे । जिम सानोदेखिनै एउटा राम्रो कलाकार बन्ने सपना देख्थे र अभिनय कला सिक्दै रहे । सन् १९९० मा जब जिम हलिउडमा अभिनय गर्ने लक्ष्यका साथ बिभिन्न संघर्ष गरिरहेका थिए, एकदिन उसले आफैले आफूलाई उत्प्रेरित गर्नको लागि आफ्नै नाममा ५ बर्ष पछाडी अर्थात सन् १९९५ को मिति राखेर १० मिलियन डलरको चेक काटे र पर्समा राखे । केरीलाई ५ बर्षपछि आफूले उत्कृष्ट कलाकारको रुपमा १० मिलियन बराबर रकम पुरस्कार पांउछु बिश्वास थियो र सोही अनुसार आफूलाई तयारी गर्दै थिए । त्यतिबेला जिम जस्तो गरिब परिवारको ब्यक्तिले १० मिलियन डलरको सपना देख्नु एकदमै ठुलो कुरा थियो । उ त्यतिबेला सामान्य ब्यक्ति थियो तर, उसको सोंच ठुलो थियो ।
१९९० मा नै उसले ५ बर्ष पछि अभिनय वापत १० मिलियन डलरको चेक प्राप्त गर्नुपर्छ भन्ने लक्ष्यका साथ आफैले आफ्नै नामको काटेको चेक पर्समा राखेर हिंड्थ्यो र दिनदिनै त्यो चेक हेरेर उत्प्रेरित हुन्थ्यो । १९९४ सम्म जिम केरीले टिभि सिरियल तथा केहि फिल्ममा काम गरिरहे । जिमको सपना अनुसार १९९५ मा डम्ब एण्ड डम्बर भन्ने फिल्ममा मुख्य भूमिका निर्वाह गरे जुन फिल्म सुपरहिट भयो र उसलाई १० मिलियन डलर पारिश्रमिक प्राप्त भयो ।
जिम केरीको उदाहरणले बुझ्न सकिन्छ कि हामी जति ठुलो लक्ष्य लिन्छौ, त्यति नै ठुलो सफलता प्राप्त गर्छाै तर, लक्ष्य लिएर मात्र हुंदैन, उक्त लक्ष्य प्राप्तिको लागि निरन्तर लागिरहनुपर्छ । लक्ष्य लिएपछि मेहनत र दृढताका साथ लागिपर्ने हो भने अवश्य पनि लक्ष्य प्राप्त हुन्छ । जिम केरीको आफैले आफैलाई उत्प्रेरणा दिलाउन दिनदिनै चेक हेर्ने र मेरो लक्ष्य यो हो भनेर आफैले आफैलाई स्वनिर्देशित गर्ने तरिका गज्जबको छ । मानिस सफल हुनको लागि उत्प्रेरणको आवश्यक पर्छ र त्यो पनि स्वउत्प्रेरणा त झनै आवश्यक पर्छ । प्रत्येक ठुला कार्यहरु प्रत्येक ठुला सफलताहरु एउटा ठुलो सपनाबाट शुरु हुन्छ, एउटा ठुलो लक्ष्यबाट हुन्छ ।
संसारका ख्यातिप्राप्त मोटिभेटरहरुले भन्ने गर्छनः लक्ष्य त्यत्रो बनाउनु कि, जबसम्म मानिसहरु तिम्रो लक्ष्य सुनेर तिमिलाई पागल भन्दैनन् । यदि तिम्रो लक्ष्य सुनेर तिमिलाई पागल भन्दैनन भने तिम्रो लक्ष्य सानो छ भनेर बुझ्नु । बिभिन्न सफल ब्यक्तिहरुको जिवनीलाई अध्ययन गर्ने हो भने पनि उनिहरुले आफ्नो लक्ष्य अरुलाई सुनाउंदा धेरै ब्यक्तिहरुले उनिहरुलाई उडाएका थिए । पाकिस्तानको क्रिकेट टिमबाट रिटायर्ड भएपछि इमरान खानले राजनिती पार्टी खोलेर देश परिवर्तन गर्ने लक्ष्य सुनाएका थिए, त्यतिबेला इमरान खानलाई धेरैले साथ दिएका थिएनन् तर, अहिले इमरान खान बहुमत नजिकको पार्टीको हिसाबले पाकिस्तानको प्रधानमन्त्रि भएका छन् । जब सर एडमण्ड हिलारीले सगरमाथा चढ्ने लक्ष्य सुनाएका थिए, धेरैको नजरमा यो आत्महत्या गर्न जानु सरह थियो । कसैलाई पनि थाहा थिएन कि, सगरमाथा चढ्ने बाटोमा के के छन् कस्तो छ । त्यतिबेला त्यति बिकसित नभईसकेको प्रविधि तथा कम संसाधन तथा कम सूचनाको साथमा हिलारीले सगरमाथा चढ्ने निर्णय गरे, बास्तवमा त्यो ज्यादै ठुलो लक्ष्य थियो र आखिरमा उनले तेन्जिङ नोर्गे शेपासंग सगरमाथाको सफल आरोहण गरी ईतिहांस रचेरै छाडे ।
ठुलो सफलताको लागि ठुलै लक्ष्य आवश्यक पर्छ तर, लक्ष्य ठुलो बनाउंदैमा शुरुवात नै ठुलो बाटै गर्नुपर्छ भन्ने होईन । सानोबाट शुरु गरेरै भएपनि ठुलो लक्ष्यमा पुग्न सकिन्छ । नेपालको भाटभटेनी सुपरमार्केट यसको एउटा गतिलो उदाहरण हो । सानोबाटै शुरु गरेपनि निरन्तरको बृद्धिले ठुलो लक्ष्यमा पुग्न सकिन्छ । अलिबाबा ग्रुपका कार्यकारी अध्यक्ष तथा चिनका सबैभन्दा धनी ब्यक्ति ज्याक मां ले पनि अलिबाबा ग्रुप शुरु सानोबाटै शुरु गरेका थिए त्यसरी नै नेपालको टेलरिङ ब्यवसायमा सबैभन्दा स्थापित नाम श्रेष्ठ टेलरिङका बाबुकाजी शाक्यले ६० रुपैंयाबाट ब्यवसाय शुरु गरेका थिए ।
लक्ष्य सानो र ठुलो कस्तो हुने भन्ने ब्यक्ति बिशेषमा पनि भर पर्दछ । एउटा ब्यक्तिलाई ठुलो लाग्ने लक्ष्य अर्काे ब्यक्तिलाई सानो लाग्न पनि सक्छ तर, यदि तपांई कुनै कम्पनीमा सानो कर्मचारीको रुपमा छिर्नुभएको छ भने त्यहांको म्यानेजर बन्ने लक्ष्य राख्नुहोस् । यदि म्यानेजर हुनुहुन्छ भने मालिक बन्ने लक्ष्य राख्नुहोस् । तपांई जुन क्षेत्रमा हुनुहुन्छ भने पनि त्यो क्षेत्रको माथिल्लो स्तरमा पुग्ने लक्ष्य राख्नुहोस् तर, लक्ष्य राख्नासाथ जे बन्ने लक्ष्य लिनुभएको छ, सोही अनुसार ब्यवहार पनि गर्न थाल्नुहोस् जस्तै ः म्यानेजर बन्ने लक्ष्य राख्नुभएको छ भने आजैबाट म्यानेजर जस्तै सोंच र ब्यवहार गर्नुहोस् । मालिक बन्ने सोंच राख्नुभएको छ भने आजैबाट मालिकले जस्तै सोच्ने, मालिकले जस्तै कम्पनीलाई मायां गर्ने गर्नुहोस् ।
तपांई जुन हैसियतमा हुनुहुन्छ निरन्तर त्योभन्दा एक कदम माथि जाने लक्ष्य राख्नुहोस् । जागिर गर्नुहुन्छ, सहायक हुनुहुन्छ भने अधिकृत हुने लक्ष्य राख्नुस्, अधिकृत हुनुहुन्छ भने म्यानेजर हुने लक्ष्य राख्नुस् । म्यानेजर हुनुहुन्छ भने कार्यकारी हुने लक्ष्य राख्नुहोस् । तर तपांईको मुख्य लक्ष्य अर्थात ठुलो लक्ष्य त कार्यकारी हुने नै राख्नुहोस् । जति ठुलो लक्ष्य राखिन्छ, त्यति नै ठुलो बिश्वास कायम राख्नुपर्छ र त्यति नै ठुलो योजना समेत बनाउनुपर्छ । यदि यसो गरिए त्यति नै मात्राको उपलब्धि अर्थात लक्ष्य हांसिल गर्न सकिन्छ । ठुलो लक्ष्य लिऔं ठुलो उपलब्धि प्राप्त गरौं ।