त्यो बाल्यकालमा कस्ता राम्रा दिन थिए,
अभावको बिचमा पनि कति रंगिन थिए ।।
सम्झंदै अति प्यारो लाग्छ त्यो बाल्यकालको,
सम्झन लायक हर पल हर क्षण थिए ।।
*****************************
न थिए ठुला सपना, न त महलको चाहना,
सानो खुशीमै रमाउने सफा मन थिए ।।
माटोमै खेलेर पनि संसार जितेजस्तो लाग्थ्यो,
ढुुङ्गा र माटोका खेलौना नै बहुमूल्य धन थिए ।।
**********************************
न मोवाईलको मोह, न सामाजिक सञ्जाको संसार थियो,
चौतारीको गफगाफ नै हाम्रा खुशीका बहार थियो ।।
साथीभाईसंग लुकामारी, चुंगी, गुच्चा अनि बाघचाल,
ति खेलहरु नै हाम्रा पर्व र उत्सव बेमिसाल थियो ।।
*************************************
आमाको न्यानो काख, बुवाको दैंत्य कथाहरु सुन्ने,
स्वर्गका अनुभूति पाउने साने संसार एकदम प्रिय थियो ।।
एउटा चकलेट पनि टोकेर ३–४ जनाले बांडेर खाने,
सफा मन, गाढा मांया तथा सम्बन्ध आत्मिय थियो ।।
***************************************
न कसैसंग ईष्र्या थियो, न कसैसंग प्रतिस्पर्धा नै,
एक अर्काको खुशीमा रमाउने मानिस दानी थिए ।।
आज सबै छ हातमा तर मनमा शान्ति छैन,
हिजो केहि नहुुंदा पनि खुशीका खानी थिए ।।
**********************************
समयले खोसिदियो बालापन अनि जिम्मेवारी थपिंदै गए,
मनभित्र जिवित छन् अझैपनि ति स्वर्णिम कहानी थिए ।।
थाह छ फर्केर आंउदैनन् ति बितेका स्वर्णिम दिनहरु,
तर, हृदयभित्र संधै र रहिरहने ति अमूल्य निशानी थिए ।।
*******************************************
-डा. बुद्धि मल्ल